| आइतवार, कार्तिक २२, २०८३

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत जातका पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान रकम दिइने

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत जातका पाडीबाच्छी हुर्काउने जिल्लाका किसानले अनुदान रकम पाउने भएका छन् ।

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रति पाडी बाच्छी दश हजारका दरले रकम उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।

पशुपालनलाइ व्यवसायीकरण तर्फ उन्मुख गराउने उद्देश्य रहेको निमित्त कार्यालय प्रमुख डा. सर्मिला कुमालले बताइन् ।

‘नश्ल जातका पाडी बाच्छी हुर्काउनका लागि हरेक वर्ष यो कार्यक्रम लागू गर्दै आएका छौ,’ उनले भनिन्, ‘एउटा फर्म वा किसानले बढीमा पाँच वटा पाडी बाच्छीको मात्र अनुदान रकम पाउछन् ।’

रकम वितरणका लागी कृषि फर्म तथा किसानहरुसँग आवेदन समेत माग भइसकेको उनले जानकारी दिइन् ।

उनका अनुसार कृषक आफैले पालेको गाइभैसीमा कृत्रिम गर्भाधान गरी जन्मेको उन्नत जातका पाडीबाच्छी हुर्काएइको प्रमाण सहितको प्रस्ताव ल्याएको खण्डमा अनुदान रकम उपलब्ध गराइने छ ।

चालु आर्थिक बर्षको असार ७ गतेसम्म प्रस्ताव ल्याए रकम उपलब्ध गराइने बताइएको छ । खर्च बढी लाग्ने हुदाँ किसानले उन्नत जातका पाडी बाच्छी हुर्काउन नचाहने भएकाले प्रोत्साहनका लागी अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्