| मङ्लबार, कार्तिक २४, २०८३

मापसे गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालकबिरुद्ध मुद्दा दर्ता

मादक पदार्थ सेवन गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालक हरिशरण गोदार (माइला दाई) लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ आहाले बस्ने ६० बर्षीय उनलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार सोमवार दिउँसो करिव चार बजेको समयमा गोनपा–८ प्रतिक्षालयचोक नजिकै गोदारले चलाएको ग २ च ७४९४ नम्वरको एम्वुलेन्सले विपरित दिशाबाट आएको ना ५ च २४५४ नम्वरको बोलेरो जीपलाई ठक्कर दिएको थियो । सोधपुछका क्रममा बोलेरो चालकलाई धाकधम्की दिई अभद्र व्यवहार गरेपछि एम्वुलेन्स चालकलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।

‘मादक पदार्थ सेवन गरेर एम्वुलेन्स चलाएका रहेछन्, फेरि दुर्घटना गराएपछि सोधपुछको क्रममा उल्टो धाकधम्की दिई अभद्र व्यवहार गरेपछि पीडित पक्षले जाहेरी दिनुभयो । त्यही आधारमा उहाँलाई पक्राउ ग¥यौँ’, डिएसपी श्रेष्ठले भने । उनीविरुद्ध यसअघि पनि मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोप लाग्ने गरेको थियो ।

पक्राउ परेका एम्वुलेन्स चालक गोदारबिरुद्ध मंगलवार सार्वजनिक हित बिरुद्धको कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्