| सोमवार, कार्तिक २३, २०८३

चुमभ्याली चिनाउने म्युजिक भिडियो सार्वजनिक

गोरखाको पर्यटकीय चुम उपत्यकालाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । चुमभ्याली म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ नामको म्युजिक भिडियो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हालै सार्वजनिक भएको हो ।


चुम उपत्यकाका छाङ चुम्पा लामाको शव्द, आरुघाटका संगीतकार राजु थापाको संगीत र चर्चित गायक राजु लामा र चुम उपत्यकाकी लोकप्रिय गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा सजिएको सो म्युजिक भिडियोमा स्थानीय कलाकारहरुकै मोडलिङ रहेको छ ।


‘अहिलेका उदियमान मोडलहरु जोनिशा गुरुङ र सेराप ग्याल्जेन लामा प्रमुख मोडलका रुपमा रहेका छन्’, म्युजिक भिडियोका परिकल्पनाकारमध्यका छाङ चुम्बा लामाले भने, ‘यसमा पाश्र्व स्वर रहेको छिरिङ ल्हामो चुम्पा पनि हिमाली भेगमा प्रचलित सांस्कृतिक समूहको चर्चित कलाकार हुन् ।’ यसमा पोखराका चर्चित नृत्य निर्देशक लबसन गुरुङको निर्देशन र अमृतमान गुरुङको कोरियोग्राफी रहेको उनले बताए ।


म्युजिक भिडियोमा चुमनुब्री गाउँपालिका ७ छेकम्पार र वडा नं. ६ चुम्चेतका विभिन्न सुन्दर दृश्यहरु समेटिएका छन् ।

‘मोटरबाटो पनि नपुगेको चुमभ्यालीमा अनुपम प्राकृतिक सुन्दरता, अपार प्राकृतिक स्रोत, सांस्कृतिक तथा जैविक विविधता छन्, जसको राम्ररी प्रचार प्रसार हुन सकेको छैन’, छाङ लामा भन्छन्, ‘यी पर्यटकीय सम्पदालाई थोरै भने पनि संरक्षण र प्रचार प्रसार गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो म्युजिक भिडियो बनाएका हौँ ।’


साथै स्थानीय कलाकार र उनीहरुका कलालाई थप उजागर गर्ने उद्देश्य पनि रहेको उनले बताए । ‘चुमभ्यालीका विभिन्न पर्यटकीय ठाउँहरुको चिनारी गराउने, जैविक विविधता, सांस्कृतिक सम्पदाको पहिचान गराउने, आन्तरिक पर्यटनको प्रवद्र्धन र संवद्र्धन गराउने, कला र संस्कृतिको जगेर्ना र विकास गर्ने र स्थानीय कलाकारको प्रतिभालाई उजागर गर्ने र स्थापित गर्ने हाम्रो मुख्य लक्ष्य हो’, म्युजिक भिडियोका परिकल्पनाकार छाङ लामाले भने, ‘यस्तै यस्तै म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिँदै जाने उद्देश्यले समिति निर्माण गरेर काम गरिरहेका छौँ ।’


चुम उपत्यकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो म्युजिक भिडियोका लागि चुमनुब्री गाउँपालिकाको मुख्य सहयोग र पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्