| आइतवार, कार्तिक २२, २०८३

असन्तुष्टीपछि अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन

दुरीमा सामान्य फेरवदल :

नयाँ भाडादर लागू भएका जिल्लाका अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन गरिएको छ । भाडा समायोजनको क्रममा निर्धारण भएको दुरी त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै यातायात व्यवसायीले बिरोध गरेपछि प्राविधिकसहितको टोलीले स्थलगत रुपमा दुरी मापन गरेका हुन् ।

उक्त टोलीमा पूर्वाधार बिकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र गोरखा दरौदी यातायात कम्पनी प्रालिका प्रतिनिधि सहभागी थिए । शनिवार र आइतवार उनीहरुले बाह्र किलो–बारपाक र गोरखा–घ्याम्पेशाल–आरुघाट सडकखण्डको स्थलगत रुपमा दुरी मापन गरेका हुन् ।

स्थलगत निरीक्षण गर्दा केही दुरी तलमाथि भएको टोलीमा सहभागी मध्येका एक पूर्वाधार बिकास कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए । ‘दाबी गरिएको जस्तो धेरै फरक त खासै देखिएन,’ उनले भने, ‘गोरखा बजारको घ्याम्पेशालचोकदेखि आरुघाटको प्रहरी चौकीसम्म ३९ किलोमिटर दुरी निर्धारण भएको थियो ।

हिजो नाप्दा ४० किलोमिटर देखायो ।’ त्यस्तै आरुघाट बगैचासम्मको दुरी ४१ र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रसम्मको ४२ किमि देखिएको उनले जानकारी दिए ।

त्यस्तै यसअघि २२ किलोमिटर निर्धारण भएको गोरखा घ्याम्पेशालको दुरी २३.४ किलोमिटर देखाएको उनले बताए । उनका अनुसार अर्को रुट, बाह्र किलोदेखि बारपाकसम्मको सडकमा ६ सय मिटर दुरी फरक परेको छ । ‘यसअघि ३६ किलोमिटर निर्धारण भएको थियो, हामीले स्थलगत रुपमा मापन गर्दा ३६.६ किलोमिटर देखायो,’ काप्रीले भने । स्थलगत निरीक्षणको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनको भनाइ छ ।

यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रतिवेदनको आधारमा दुरीमा सामान्य फरकपन देखिएकाले सडकखण्डको भाडा पनि सामान्य संशोधनसहित समायोजन गरिने बताए । ‘हामीले निर्धारण गरेकामध्ये गोरखा घ्याम्पेशाल आरुघाट र बाह्र किलो बारपाक सडकको दुरीमा उहाँहरुको असन्तुष्टी थियो, त्यसैले हामीले उहाँहरुसहित प्राविधिक टोली खटाएर स्थलगत रुपमा दुरी नाप्न लगाएका हौँ ।

दुरी फरक भएको ठाउँको संशोधन गर्छाै, अरु यथावत रहन्छ’, उनले भने । निर्धारण गरिएको नयाँ भाडादर लागू गरे नगरेको आजदेखि कडाईका साथ निगरानी गरिने उनले जानकारी दिए ।

टिकट काट्न नमान्ने र निर्धारितभन्दा बढी भाडादर लिएमा कारवाही गरिने प्रजिअ भुसालले चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले सोमवार यसै बिषयमा यातायात व्यवसायीसँग छलफल समेत भएको बताए । ‘उहाँहरुको भाडादर भन्दा पनि दुरीको बिषयमा असन्तुष्टी थियो, फिल्डमै गएर दुरी नापेपछि उहाँहरु पनि सकारात्मक हुनुभएको छ’, उनले भने ।

यता दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले पनि अव कुनै समस्या नरहेको बताएका छन् । ‘हामीले केही रुटको दुरी कम भएको भनेका थियौँ, फिल्डमै गएर नाँपजाँच पनि भयो, फरक पनि देखियो, अव त्यो संशोधन हुन्छ, त्यही अनुसार हामी नयाँ भाडादर लागू गर्छाै,’ उनले भने । भच्चेक सडकमा भने ग्रेड नमिलेका कारण केही समस्या रहेको उनको भनाइ छ ।

अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले यही असोज १५ गते जिल्लाका ४५ वटा अस्थायी रुटको भाडा समायोजन गरेको थियो । असोज १७ गतेदेखि नयाँ भाडादर लागू गर्न भनेपनि यातायात व्यवसायीले अटेर गर्दै आएका थिए ।
सडकको दुरी निर्धारण त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् ।

भाडादरप्रति भने कुनै असन्तुष्टी नभएको उनीहरुले बताएका थिए । समितिले पक्की सडकमा प्रति किलोमिटर ५.३४ रुपैया, ग्रावेल सडकमा ७.८५ र कच्ची सकडमा ९.४४ रुपैया भाडा निधारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्