
८० वटा दशैं हेरिसकेकाहरुको नजरमा उहिलेको र अहिलेको दशैँ
हिन्दू नेपालीहरुको महान चाड बडादशैँ सुरु भएको छ । हिँजो घटस्थापना, घरघरमा जमरा राख्ने, घटस्थापना गर्ने तथा आ–आफ्नो रीतिथिति अनुसार मनाउन सुरु भएको छ ।
कतै रोटेपिङ, लिंगेपिङ हाल्न सुरु भएको छ, कतै घर, गाउँ, बाटो सरसफाइ गर्न थालिएको छ ।
चाडबाड विशेषगरी बालबालिकालाई उत्साहवद्र्धक हुन्छ । पढाइ, पेशा, व्यवसायको तनावका बाबजुद युवा र प्रौढले पनि उत्साहपूर्वक चाडबाड मनाइरहेका हुन्छन् । ज्येष्ठ नागरिकले भने आफ्नो जमानाको दशैँ सम्झेर वर्तमान दशैंलाई मनाइरहेका हुन्छन् ।
युवायुवतीहरु कल्पनामा बाँच्छन्, वृद्धवृद्धाहरु सम्झनामा बाँच्छन् भनिन्छ ।
बालबालिका र युवाहरुले दशैंलाई अगाडि हेरेर मात्र मनाउँछन् । वृद्धवृद्धाले भने पहिले र अहिलेको तुलना गरेर मनाइरहेका हुन्छन् । ८० वटा दशै देखिसकेका उनीहरुलाई युवावयको नजरले हेरेको भन्दा वृद्धवयको नजरले हेरेको दशैंलाई फिक्का लाग्नु, रुग्ण लाग्नु स्वभाविकै हो ।
यथार्थ अर्को पनि हो, किन दशैँ उमेरगत अनुभूति भन्दा पनि अहिलेभन्दा उहिले भव्य हुन्थ्यो । प्रस्तुत छ, ८० वटा दशैं देखिसकेकाहरुको अनुभवमा उहिले र अहिलेको दशैंप्रति प्रतिनिधिमुलक धारणा
पुल्टी बालेर लुगा सिउँथेँ : हीराबहादुर परियार

हाम्रा पालामा नयाँ लुगा लगाउने भनेकै दशैँमा मात्र हो । जस्तै नहुनेले पनि टिकाको दिनमा एउटा टालो मात्रै भने पनि नयाँ लगाउनु पर्छ भन्ने चलन थियो, त्यसैले टिकाको दिनभन्दा अघि नै सिइसक्नु पर्ने लुगाको खातैखात हुन्थ्यो । छिटो–छिटो लुगा सिलाउन पयरे मेसिन पनि थिएन । हाते मेसिनले सिउनु पथ्र्यो ।
सबै बिस्टहरु छिटो लुगा सिलाइदे भन्न आउँथे । अरुलाई दशैँ आएपछि रमाइलो, हामीलाई दशैँ आएपछि कामको चाप । विजुली बत्ती थिएन, पुल्टी बालेर रातभरि लुगा सिउन पथ्र्यो । लुगा सिएको ज्याला थिएन । बाली दिन्थे । बाली नै दिए पनि अहिले नगद दिएको भन्दा जित्थ्यो ।
सोह्रसरातभन्दा अघिको अष्टमीदेखि गोरखकाली मन्दिरमा मालसिरी गाउने चलन हुन्थ्यो । हामी साँझ र बिहान गरी दिनमा दुईफेर नगरा बजाउन जानु पथ्र्यो । नगरा बजाएर महिनामा तीन मोहर तनखा पाउने जागिर थियो । कालीकापट्टि पाँच जना, गोरखनाथपट्टि पाँच जना गरेर १० जना नगर्चीले नगरा बजाउँथे । तर अचेल त एकजना मात्र नगर्ची छन् । त्यही पनि अरुलाई खेताला पठाउँछन् ।
अब अहिले हेर्नू त, नयाँ लुगा लगाउन दशैँ कुर्नै पर्दैन । कसैले च्यातिएको लुगा लगाउन नि परेको छैन । कसैले नमिठो खान पनि परेको छैन । दशैँमा काम पनि छैन, दाम पनि छैन ।
अचेलको दशैंमा केही रौनक छैन : नारायणभक्त अर्याल

नौरथा लागेपछि बिहान झिस्मिसमै नुहाइधुवाइ गरेर गोरखकाली मन्दिरमा जान्थ्यौँ । दिनभरि खालिपेट बसेर कालीका मन्दिरमा पूजाआजा गरेर बेलुकी फर्किन्थ्यौँ ।
साँझमा आरती गरेपछि मात्रै खाना खान्थ्यौँ । फूलपातीको दिनमा बिल्ल निमन्त्रणा गर्ने कार्यक्रम हुन्थ्यो । हजारौँ हजारजना जम्मा भएर नौमति बाजा बजाउँदै, पञ्चै बाजा बजाउँदै, तोप पड्काउँदै, बन्दुक पड्काउँदै सतिपिपलदेखि गोरखा दरबारसम्म फूलपाती बोकेर लानु पथ्र्यो ।
फूलपाती भित्र्याउँदा ठूलै धुमधाम हुन्थ्यो । वारिडाँडा, पारिडाँडादेखि रमिता हेर्न आउँथे, पाखैभरि कतिकति मान्छे आउँथे, त्यसैले त ‘छोप्राकीले फूलपाती हेरेझैँ’ भनेर उखान पनि बनाएका थिए । फूलपातीको दिनमा जुनसुकै हालतमा पनि नयाँ लुगा लगाउनै पथ्र्यो तर दर्जीले लुगा सिएरै भ्याउँदैनथ्यो ।
रोएर, हाँसेर दर्जीसित नयाँ लुगा सिलाइमागेर त ल्याइन्थ्यो, तर कुनै टाँक नलगाएका, कुनै तना नगाँसेका लुगा हुन्थे । जस्तो छ, त्यही उनेर फूलपाती भित्र्याउन जानुपथ्र्यो ।
अस्टमीको दिनमा सतार काटेको हेर्नेको उस्तै भीड लाग्थ्यो । त्यसपछि विजया दशमीको टीकाको साइत आउँछ । टीकाको दिनमा रंग खेलेर उत्सव गरिन्थ्यो । चतुदर्शीको दिनमा २७ वटा राँगा काटेर अखिलबलीपूर्ति गरिन्थ्यो र भगवतीलाई कैलासमा सारिन्थ्यो ।
तर अहिले कर्मचारीले औपचारिक रुपमा मात्र फूलपाती भित्र्याउँछन् । सर्वसाधारणलाई कुनै रौनक छैन ।
यता घरमा दशैं लागेपछि रातभरि भरि घैया धानको, अनादि धानको चिउरा कुट्ने चटारो हुन्थ्यो । कोही दुना टपरी गाँस्न भ्याइनभ्याई हुन्थ्यो ।
ठिटाहरु पिङ हाल्न, ठिटीहरु खाजा, नास्ता बनाउन खटिन्थे । त्यो बेलाको रौनक अर्कै हुन्थ्यो । अचेल त के दशैं, के तिहार, जहिले पनि उस्तै छ ।
अहिले ३६५ दिन नै दशैँ जस्तो छ : मोहनलाल श्रेष्ठ

हाम्रो पालामा दशैँ भनेको खुशी हो, दशैँ भनेको आनन्द हो । अरु १२ महिना हाड छाला घोटे पनि दशैँको बेलाचाहिँ सबैको मुहारमा हाँसो खुशी देखिन्थ्यो ।
दशैंको बेला हेर्नुस् त मौसमै खुशीको हुन्छ । न चर्को घाम, न पानी, न धेरै जाडो, न गर्मी । कस्तो समय छानेर पर्व राखेका पहिलेका मान्छेले ।
दशैँमा चामलको भात खाने, चिउरा र मासु खाने भनेर घैया छर्ने चलन थियो । अरुबेला त ढिडो खाएर छाक टार्नुपथ्र्यो । दशैँमा खानका लागि भनेर घरघरमा कुखुरा, बाख्रा, राँगो पाल्ने चलन थियो । बर्षमा एकफेर दशैँ आएपछि मासु खान पाइन्छ भन्ने रहर थियो, नयाँ लुगा लगाउन पाइन्छ भन्ने रहर थियो ।
दशैं लागेपछि महिलाहरु दुना टपरी गाँस्थे । पुरुषहरु नानाथरी फूल खोज्न हिँड्थे । दरबारमा मन्दिरजस्तो आकार बनाएर फूल चढाउन जानु पथ्र्यो । हाकिमले कसको फूल राम्रो, कसको फूल धेरै भनेर लेखाजोखा गर्थे ।
एउटा ठाउँका ठिटाठिटीहरु अर्कोगाउँको पिङमा रोदी बस्न जान्थे । रामरमिता हुन्थ्यो । इष्टमित्रहरु हुलका हुल आवतजावत हुन्थ्यो ।
अहिले हेर्दा, सँधै दशैँ जस्तो छ । फाटेको लुगा लगाएको कोही देखिँदैन, सबै राम्रै लुगा लगाएका देखिन्छन्, सबै सागपात छोडेर पनि मासु खाएकै छन् । रमाइलो गरेकै छन् ।
साथीभाइ भेट्ने, रामरमिता गर्ने भनेकै दशैंमा मात्र हुन्थ्यो । अचेल त सँधै रामरमिता गरेकै छन् । एक हिसाबले हेर्दा यो राम्रो पनि छ ।




