
गोरखा अस्पतालको प्रवेशद्धार र पार्किङ स्थल स्तरोन्नती हुने, बोरिङ खन्नका लागी पनि बजेट विनियोजन
गोरखा अस्पतालको उत्तर तर्फ रहेको प्रवेशद्धारलाई स्तरोन्नती गरिने भएको छ । हाल भएको प्रवेशद्धारलाई भत्काएर नयाँ बनाउन लागिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । नयाँ बन्ने प्रवेशद्धार करिव २० फिट उचाई र १७ फिट चौडाइको हुने समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । ‘अहिलेको गेट अलि साँघुरो छ,’ उनले भने, ‘अव त्यसलाई भत्काएर अलि फराकिलो नयाँ गेट बनाउन लागेका हौ ।’
स्टमेटको काम भइरहेको बताउँदै उनले तिहार लगतै काम शुरु हुने बताए । प्रवेशद्धारा निर्माणका लागि निक साइमन इस्टिच्युट नामक संस्थाले १५ लाख रकम सहयोग गरेको उनले जानकारी दिए । उनका अनुसार उक्त संस्थाले हाल अस्पतालमा ३० जना डाक्टर र कर्मचारी समेत उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै सोही प्रवेशद्धार नजिकै प्रयोगविहीन अवस्थामा रहेको अस्पतालको जग्गामा पार्किङ स्थल समेत बन्ने भएको छ । पार्किङ स्थल निर्माणका लागी गण्डकी प्रदेश सरकारबाट चालु आव २० लाख रकम विनियोजन भएको छ । ‘दुई तलाको पार्किङ स्थल बनाउने योजना हो, यसको काम पनि तिहारपछि शुरु हुन्छ,’ उनले भने ।
चालु आवभित्रै काम सम्पन्न हुने उनले जानकारी दिए । यता पानीको समस्या समाधानका लागी बोरिङ समेत खन्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पतालको पुरानो भवन परिसर नजिकै बोरिङ खन्ने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए ।
बोरिङ खन्नका लागि चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट १७ लाख रुपैया विनियोजन भएको उनले जानकारी दिए । चैत्र, बैशाख र जेठ महिनामा अस्पतालमा पानीको अभाव हुने गरेको उनको भनाइ छ । अस्पतालको नयाँ भवनमा लिफ्ट संचालनका लागि पहल समेत भइरहेको बताइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई प्रस्तावना पेश गरिएको र अस्पताल निरिक्षणको क्रममा मौखिक जानकारी समेत गराइएको श्रेष्ठले जानकारी दिए ।
गरिव र असहाय वर्गको उपचार सहयोगार्थ दान पेटिका
गरिव तथा असहायहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले अस्पतालमा दान पेटिका राखिएको छ । अस्पतालमा उपचार गराउने आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचारमा सहयोग पु¥याउन दान पेटिका राखिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।

‘अस्पतालमा आएर उपचार गर्दागर्दै पैसा सकिएर खान र घर फर्किन गाह्रो भएका केहि मान्छेहरु भेटेपछि मैले व्यक्तिगत रुपमा पैसा दिएर सहयोग गरेको थिए,’ उनले भने, ‘त्यस्तै व्यक्तिहरुलाई सहयोग गर्न भनेर अहिले दान पेटिका राखेका हौ ।’ उक्त दान पेटिकामा अस्पतालका कर्मचारी लगायत इच्छा भएका जो कोहीले पनि सहयोग गर्न सक्ने उनले बताए ।
जन्मदिन लगायतका बिभिन्न उत्सवमा सहयोग गर्न चाहने जो कोहीलाई पनि दान पेटिका खुल्ला रहने उनको भनाइ छ । दान पेटिका अस्पताल व्यवस्थापन समिति र कर्मचारीको रोहवारमा प्रत्येक महिनाको अन्तिमा खोलिने बताइएको छ । पेटिकामा जम्मा भएको रकम समितिको नाममा रहेको बैक खातामा जम्मा गरिने र आवश्यकता अनुसार निकालेर सहयोग गरिने अस्पतालले जनाएको छ ।




