
धार्चे र चुमनुब्रीमा टिम्मुर मनग्य उत्पादन
आयुर्वेद औषधी, मसला तथा अचारमा प्रयोग हुने बहुउपयोगी टिम्मुर धार्चे र चुमनुब्री गाउँपालिकामा मनग्य उत्पादन हुने गरेको छ । १५०० सय मिटरदेखि ३५०० मिटर उचाइसम्म हुने टिम्मुर दुई पालिकामा गरी १० क्वीण्टलभन्दा धेरै उत्पादन हुने व्यवसायीहरुको अनुमान छ ।
‘धार्चे गाउँपालिकामा मात्र लगभग तीन क्वीण्टलभन्दा धेरै टिम्मुर उत्पादन हुन्छ’, व्यवसायी महेन्द्र गुरुङ भन्छन्, ‘त्यो भन्दा धेरै चुमनुब्री गाउँपालिकामा उत्पादन हुन्छ । यसलाई व्यवस्थित गरेर संकलन तथा निकासी गर्न सकेमा स्थानीयबासीको आयआर्जन पनि राम्रो हुन्छ । गाउँपालिकालाई पनि राम्रै आन्तरिक आयस्रोत हुन्छ ।’ धार्चेको विशेषगरी वडा नं. ७ को लापु, खानीगाउँ, वडा नं. ३ को खोर्ला, उहिया क्षेत्रमा टिम्मुर धेरै उत्पादन हुने उनले बताए ।
यदाकदा निजी बारीको डिलमा हुने भए पनि टिम्मुर विशेष गरी वन क्षेत्रभित्र धेरै हुने वडा नं.७ का वडा सदस्य पन्दुर गुरुङको भनाइ छ । वनमा पाइने टिम्मुरलाई गाउँलेले बैठक गरी एकसाथ संकलन गर्ने परम्परा रहेको उनले बताए । ‘टिम्मुर सरकारी वनमा हुन्छ । त्यसैले एक्ला एक्लै गएर संकलन गर्न पाइँदैन’, उनले भने, ‘गाउँलेहरु बैठक गरी यो दिनदेखि टिम्मुर संकलन गर्ने भन्ने निर्णय गरेर संकलन गर्ने गरिन्छ ।’ टिम्मुर गाउँलेका लागि एउटा आर्थिक स्रोत भएको उनले बताए ।
टिम्मुरलाई दर्बिलो आर्थिक स्रोत बनाउने उद्देश्यले यसअघि गाउँपालिकाले जंगलमा टिम्मुर रोप्ने कार्यक्रम सञ्चालन गरेको थियो । सो विरुवाहरु अहिले हुर्किने क्रममा रहेको निवर्तमान गाउँपालिका प्रमुख सन्तोष गुरुङको भनाइ छ । ‘हामीले हाम्रो कार्यकालमा धार्चेका विभिन्न जंगलमा टिम्मुरको विरुवा रोप्ने कार्यक्रमलाई बजेट बिनियोजन गरेका थियौँ’, उनले भने, ‘अहिले ती बिरुवाहरु हुर्किँदै होलान् । केही बर्षभित्र त्यसले राम्रै उत्पादन दिन्छ । वनको टिम्मुरले मात्र व्यवसायिक उत्पादन गर्न सकिँदैन । व्यवसाय गर्न चाहनेलाई बारीमा नै टिम्मुर उत्पादन गरेर बिक्री गर्ने वातावरण बनाउन विरुवा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ गाउँमै यसको नर्सरी बनाउन सके अझै उत्तम हुने उनको भनाइ छ ।
काठमाडौँ, पोखरा, नारायणघाट जस्ता ठूला सहरमा ममको अचारमा टिम्मुरको अत्याधिक प्रयोग हुने हुँदा टिम्मुरको बजार राम्रो रहेको उनको भनाइ छ । ‘अहिले अमेरिका, यूरोप जस्ता पश्चिमा मुलुकहरुमा पनि नेपालको टिम्मुर बिक्री भएको खबर आइरहेको छ । त्यसैले टिम्मुर व्यवसायको भविष्य राम्रो छ’, गुरुङले भने, ‘अहिले सबैजसो खेतीबाली बाँदरले सत्यानाश पार्ने समस्या छ, तर टिम्मुर बाँदरले खाँदैन । त्यसैले किसानलाई बिस्तारै टिम्मुरखेतीतर्फ उन्मुख गराउनु उचित देखिन्छ ।’
टिम्मुर खेतीको सम्भाव्यता अध्ययन नगरी बजेट तथा कार्यक्रम बिनियोजन गर्न नसकिने वर्तमान गाउँपालिका प्रमुख लक्ष्मण गुरुङ बताउँछन् । ‘यसको व्यवसायिक उत्पादन हुन्छ कि हुदैन, उत्पादन भएपछि यसको बजार कसरी ग्यारेण्टी गर्न सकिन्छ, त्यसको बारेमा विस्तृत अध्ययन नगरी आँखा चिम्लेर बजेट बिनियोजन गर्नु वुद्धिमानी हुदैन’, उनले भने, ‘त्यसैले हामीले यसको अध्ययन गर्नेछौँ । त्यसपछि कस्तो कार्यक्रम सञ्चालन गर्ने भनेर सोचौँला ।’




