| शनिबार, अशोज १६, २०८३

तनहूँ बन्दीपुरबाट ७२ बर्षअघि बोकेर ल्याएको त्यो स्कूल

अरु गाउँजस्तै गोरखाको गाईखुर पनि दैनन्दिन खण्डहर बनिरहेको छ । पालुङटार नगरपालिका ६ नाङ्गेडाँडादेखि बेतेनी मैदानसम्म २० बर्षअघि दुईसय घरधुरी थिए, जनसंख्या बाह्रसय जति । त्यही सेरोफेरोमा अहिले पुगनपुग ८० घरधुरी छन्, जनसंख्या त्यही करिब डेढसय जति ।

गोरखाकै जेठोमध्यको यहाँको हाइस्कूल पनि विद्यार्थीविहिन बन्दैछ । २० बर्षअघिसम्म आठसयको हाराहारीका विद्यार्थी पढ्ने यहाँ अहिले मुस्किलले डेढसय विद्यार्थी पढ्छन् । ‘डाँडाको बस्ती हो । थपिनेवाला छैन, अझ घट्नेवाला छ’, प्रधानाध्यापक राजन भट्टराईको भनाइ ।

प्रजातन्त्रको आगमनसंगै गोरखामा धमाधम विद्यालयहरु खुले । सबैभन्दा पहिले २००७ फागुन १० गते गोरखा नगरपालिका ८ कट्टेलडाँडामा सूर्योदय आधारभूत स्कूल स्थापना भयो । सोही महिनामा तान्द्राङमा संस्कृत मावि खुल्यो । चैत महिनामा भीमोदय मावि । त्यसपछि सदरमुकामको शक्ति मावि २००९ कात्तिक १० स्थापना भयो । गाईखुरको लक्ष्मी मावि २००९ फागुन महिनामा स्थापना भएको विभिन्न आलेखहरुमा भेटिन्छ ।

लक्ष्मी माविको इतिहास अलिक फरक छ । लक्ष्मी मावि पहिले पश्चिम ३ नंबर तनहूँ, बन्दीपुरमा लक्ष्मी आधारस्कूलका रुपमा सञ्चालित थियो । शिक्षाका क्षेत्रमा बन्दीपुर नेपालमै अगाडि थियो, जहाँ १९५८ सालमा देव शम्सेरका पालादेखि बन्दीपुर भाषा पाठशाला सञ्चालनमा थियो ।

भारतमा अंग्रेज सरकारले सञ्चालन गरेको आधार स्कूलको देखासिकीमा राणा प्रधानमन्त्री पद्म शम्सेरले पनि नेपालका विभिन्न ठाउँमा आधार स्कूलहरु खोलेका थिए । त्यही क्रममा बन्दीपुरमा २००४ सालमा आधार स्कूल खुलेको थियो । यहाँ संस्कृत, नेपाली, व्याकरणलगायतका विषयमा पढाइ हुन्थे । तान बुन्ने, चर्खा कात्ने जस्ता व्यवसायिक शिक्षा पनि हुन्थे ।
जब मुलुकमा प्रजातन्त्र आयो, तब २००७ सालदेखि यहाँका व्यापारी, व्यवसायी अभिभावकहरुले आफ्ना सन्तानहरुलाई अंग्रेजी, विज्ञान, गणित, भूगोल, इतिहास पढाउने आधुनिक विद्यालयको माग गरे ।

आधार स्कूल चाहिँदैन, आधुनिक स्कूल चाहिन्छ भन्ने माग भयो । सरकारसम्म सजिलै पहुँच भएका उनीहरुले २००८ सालमा भानु मिडिल स्कूल सञ्चालन गर्ने स्वीकृति लिएर आए । त्यहाँ सञ्चालित लक्ष्मी आधार स्कूल हटाउने निर्णय भयो । त्यहाँको भौतिक संरचना, शिक्षकहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने निक्र्यौल निस्केन ।

त्यसपछि तत्कालीन प्रधानाध्यापक यमप्रसाद कोइराला लक्ष्मी आधार स्कूललाई अब कहाँ सञ्चालन गर्ने भनेर विकल्प माग्न शिक्षा मन्त्रालय पुगे । लक्ष्मी माविको स्वर्ण महोत्सव स्मारिकामा प्रकाशित उनै कोइरालाको आलेखका अनुसार तनहूँमा कहीँ पनि आधार स्कूल सञ्चालन गर्न तयार भएनन्, त्यसैले उनले आफ्नो गृहगाउँ पश्चिम २ नंबर गोरखा, गाईखुरमा स्थानान्तरण गर्ने शिक्षामन्त्री, शिक्षा सचिवसंग प्रस्ताव गरे ।

‘… शिक्षा सचिवबाट आफै अन्यत्र कतै सारेर सञ्चालन गर्न सकिन्छ भने लैजाने भनी आदेश आएपछि मैले गोखा जिल्लाको आफ्नै गाईखुरमा लगेर सञ्चालन गर्न सक्छु भनी उत्तर दिएँ । त्यसो भए विद्यालय गाउँमा लगी सञ्चालन गर्न चाहिने जग्गा उपलब्ध गराउन सकिनँ भने म आफ्नै घरबारीमा विद्यालय भवन बनाउन दिउँला भनेर घरबारी धितो राख्नुपर्छ भनेर सर्त करार गर्नुभयो । त्यसपछि मैले आफ्नो जग्गा राखी कबुलियतपत्र लेखी सचिवलाई दिएँ र विद्यालय गाईखुरमा सार्ने आदेश शिक्षा मन्त्रालयबाट लिएँ ।’

उनलाई त्यतिबेला आड भरोसा दिनेहरुमा उनका अभिभावक हिराप्रसाद कोइराला, गाउँका मुखिया देवीप्रसाद श्रेष्ठ, ओमदत्त पन्त, खुतराज त्रिपाठी थिए । त्यस्तै बखतमान श्रेष्ठ, रणबहादुर आले, श्यामराज पन्त, नन्दप्रसाद अधिकारी, प्रेमराज देवकोटाको साथ र सहयोगमा बन्दीपुरको लक्ष्मी आधार स्कूल उठाएर गाईखुर ल्याइयो ।

सोही स्मारिकामा प्रकाशित राजनीतिक व्यक्तित्व, पूर्वमन्त्री वाचस्पति देवकोटाको आलेखका अनुसार गाईखुरका बासिन्दा अत्यन्त साहसी, आँटिला, जोशिला थिए ।

‘…बन्दीपुरका बासिन्दाले आधार स्कूल हटाउने निर्णय गरेपछि गाईखुरका सर्वसाधारण जनताको ठूलो सहभागितामा बन्दीपुरको आधार स्कूल नै बोकेर गाईखुरमा ल्याएर खडा गरियो । त्यतिबेला मान्छेको मुखबाट सुनिने गथ्र्यो कि, ठुटेबजार जात्रा, च्याङ्ली जात्रा, चेपेघाट जात्रा जहाँ होस्, गाईखुरका जात्रुहरु लडाइँ एवं भिडन्त गर्न सक्ने हुँदा उनीहरुसंग जोकोही तर्सन्थे । गाईखुरेलाई कोही पनि हेप्न सक्दैनथे । त्यही बल र शक्तिले बन्दीपुरबाट आधार स्कूल नै बोकेर गाईखुर ल्याउने जुन काम गरे, साँच्चै नै आफ्नो शक्ति र बलको सही सदुपयोग गरेर देखाए । गाईखुरेको त्यो पुरुषार्थ देखेर सरकार पनि झुक्यो र लक्ष्मी आधारभूत स्कूललाई स्वीकृति दियो ।’

त्यतिबेला स्कूलै बोकेर ल्याउनेमध्यका एक बाबुलाल श्रेष्ठ भन्छन्, ‘त्यहाँको तान, चर्खा, कतुवा, ट्वाइलेट जाँदा लैजाने ढलोटको लोटा पनि छोडिएन । अहिले लक्ष्मी माविमा बजाउने घण्टी पनि त्यहीँबाट ल्याएको हो । त्यतिबेला मस्र्याङ्दी तर्न कतै पनि पुल थिएन । सबै डेस्कबेञ्च, टेबुल, कागजपत्र सबै डुङ्गाबाट देउलीघाट तारेर ल्याएको हो । हामीले स्कूल उठाएर ल्याएको देखेर सबैजना दंग परेका थिए । स्कूल बोक्नेलाई घटुवारेले पैसा पनि लिएनन् ।’

बन्दीपुरबाट बोकेर ल्याएको लक्ष्मी आधार स्कूल त्यतिबेला बेतेनीमैदानमा छाप्रो बनाएर सञ्चालन आरम्भ गरियो । त्यसपछि गाईखुरका मल्ल परिबारले गाउँको माझमा रहेको जग्गा विद्यालय स्थापना गर्न दान गरे । पूर्व प्रधानाध्यापक रुद्रनाथ खनालका अनुसार विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, गाउँले सबैले श्रमदान गरेर विद्यालय भवन बनाएका हुन् । त्यतिबेला सदरमुकामबाहेक गोरखाको पश्चिमी क्षेत्र कतैपनि विद्यालय थिएन । उच्च कुलीन घरानाको आँगन, पिँडीमा संस्कृतका शिक्षक राखेर धुलौटो र सिलोटमा उनीहरुका खलकका छोराछोरीहरुलाई अक्षर चिनाउँथे । रुद्री र चण्डी कण्ठस्थ बनाउँथे ।

यही परिवेशमा गाईखुरमा आधार स्कूल खुलेपछि आसपासका डाँडाकाँडा, गाउँटोलबाट पढ्न आए । स्कूल बोकेर ल्याउनेमध्यका एक प्रेमराज देवकोटाका अनुसार त्यतिबेला यमप्रसाद कोइराला प्रधानाध्यापक थिए । सिद्धिविलास देवकोटा, रामचन्द्र पण्डित, अग्निधर देवकोटा, गोपिनाथ पोखरेल, टीकाराम पौडेल शिक्षक थिए । बखतमान श्रेष्ठ र खड्गबहादुर रोका पियन थिए । व्यवस्थापन समितिको अध्यक्ष ओमदत्त पन्त थिए । ‘स्कूल त ल्याइयो । अब शिक्षकलाई तलब दिनु प¥यो । विद्यार्थी पनि चाहियो । त्यही भएर हामी टाढाटाढासम्म देउसी भैलो खेलेर खर्च पनि जोहो गथ्र्यौँ, विद्यार्थी पनि बटुल्थ्यौँ’, देवकोटाले भने ।

२०१४ सालमा सो विद्यालयले मिडिल स्कूल र २०१८ सालमा हाइस्कूलको स्वीकृति पायो । सो विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षा उतीर्ण गर्ने बलराम पन्त पछि राजा वीरेन्द्रका निजी पाइलट बने । यहाँका विद्यार्थी तथा प्रधानाध्यापक हितराज पाण्डे स्थानीय विकास मन्त्री बने ।

आसपास कतै पनि विद्यालय नभएको हुँदा गोरखाको हालको पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजीरकोट, बारपाक सुलीकोट गाउँपालिका, तनहूँको पनि धेरै ठाउँका विद्यार्थी आउँथे । ‘गोरखा, तनहूँ, लम्जुङदेखिका विद्यार्थी यहाँ पढ्न आउँथे’, देवकोटाले भने । गोरखामा शिक्षाको उज्यालो फैलाउने लक्ष्मी मावि अहिले विद्यार्थी विहिन बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्