| शनिबार, अशोज १६, २०८३

एक शिक्षकको मृत्यूमा पालिकाभरिका ३९ वटै विद्यालय बन्द


गोरखाका एक शिक्षकको मृत्यू हुँदा पालिकाभरिका ३९ वटै विद्यालय बन्द गरिएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा सबै विद्यालयमा सार्वजनिक विदा गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सार्वजनिक सूचना जारी गरी सोमबार पालिकाभरिका सबै विद्यालय बन्द गरिएको हो ।


पालिकाको सूचनापछि सो पालिकाभरिका ३७ वटा सामुदायिक र दुईवटा निजी विद्यालय सोमबार बन्द भएका छन् । ‘पालिकाका अध्यक्षज्यूले बन्द गर्न भन्नु भएको थियो, त्यसैले मैले सूचना जारी गरेको हुँ’, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने । तर पालिकाका प्रमुख विष्णु भट्टले भने आफू पालिका बाहिर रहेकाले आपसी सल्लाह गरेर बन्द गरेको हुनसक्ने बताएका छन् । ‘भावनात्मक विषय भएकाले आपसमा सल्लाह गरेर बन्द गर्नु भएको हुनसक्छ’, उनले भने ।
एकजना शिक्षकको मृत्यू हुँदा पालिकाका सबै विद्यालय बन्द भएको सो पालिकामा यो पहिलो पटक हो ।

यसले आगामि दिनका लागि नजिर पनि हुनसक्ने शिक्षा शाखाका कर्मचारी भीमकुमार श्रेष्ठले बताए ।


बिगत दुईबर्षदेखि पेटको समस्याले ग्रस्त शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्