| शनिबार, अशोज १६, २०८३

विद्यालय मर्जरको बिरोधमा आरुआर्बाङ पाखुरेको मण्डली प्रावि दश दिनदेखि बन्द

आरुघाट गाउँपालिका ५(आरुआर्बाङ) को पाखुरेमा रहेको मण्डली आधारभूत विद्यालय विगत दश दिनदेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै स्थानीय अभिभावकहरुले भदौ २ गतेदेखि विद्यालय बन्द गरेका हुन् ।

१ देखि ५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा हाल २५ जना बिद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नेपाल सरकारको दरवन्दीका दुई शिक्षक र गाउँपालिकाको राहत अनुदानको एक शिक्षक कार्यरत छन् । तर विद्यालय समायोजन भन्दै यही भदौ १ गते बसेको गाउँकार्यपालिका बैठकले उक्त विद्यालयको तह घटाउँदै नेपाल सरकारको दुईवटै दरवन्दी कटौती गर्ने निर्णय ग¥यो । सोही निर्णयको बिरोध स्वरुप विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्न बहादुर गुरुङले बताए ।

‘बिद्यार्थी संख्या कम भएको विद्यालय मर्ज गर्नु दरवन्दी कटौती गर्नु ठिकै हो तर हाम्रोमा बिद्यार्थी संख्या राम्रै छ,’ उनले भने, ‘फेरि हामीलाई भूगोलले पनि साथ दिएको छैन । यो स्कुल रहेन भने खोल्सापारि स्कुल पढाउन सकिदैन । तीनवटा खोला तरेर जानुपर्छ, बर्खाको बेला आफ्नो बच्चालाई पढ्न जा भन्दा पनि मर्न जा भने जस्तो हुन्छ ।’ पालिकाले विद्यालय खोल्न आग्रह गरेपनि आफूहरुले नमानेको उनले बताए । विद्यालयको तह नघटाई कटौती गरिएको शिक्षक दरवन्दी यथावत नगरेसम्म विद्यालय नखोल्ने अभिभावकहरुको अडान रहेको उनको भनाइ छ ।

विद्यालयको भवन जीर्ण रहेको र भूगोलमा पहिरोको जोखिम भएकाले उक्त विद्यालय समायोजन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘१ देखि ५ कक्षासम्म संचालन भएका विद्यालयलाई मर्ज गर्ने भनेर हामी गाउँ शिक्षा समितिका पदाधिकारीहरु गत साउन २५ गते विद्यालयहरुको स्थलगत निरीक्षणमा गएका थियौँ,’ पालिकाका कर्मचारी यज्ञप्रसाद कँडेलले भने, ‘त्यो विद्यालयको भवन जीर्ण रहेछ । फेरि कम्पाउण्डमा पनि पहिरो जोखिम भएपछि विद्यालय नै समायोजन गर्न सिफारिस ग¥यौ ।’ मर्जरको सिफारिसँगै विद्यालयमा रहेको नेपाल सरकारको दुई वटा दरवन्दी पनि कटौती गर्ने निर्णय गरिएको उनले बताए ।

सिफारिसपछि अभिभावकहरु बिरोधमा उत्रिएको उनले बताए । उनका अनुसार गाउँकार्यपालिकाको बैठकले विद्यालयको समायोजन नभई तह घटुवा गर्ने र दुई दरवन्दी कटौती गर्ने निर्णय ग¥यो । ‘हामीले विद्यालय नै समायोजन गर्न भनेर सिफारिस ग¥यौ तर गाउँकार्यपालिको बैठकले तह घटुवा गरेर १ देखि ३ कक्षासम्म संचालन गर्ने भनेर निर्णय गरिदियो,’ कंडेलले भने । उनका अनुसार समायोजनमा परेका बिद्यार्थीलाई स्वाँरागाउँमा रहेको जलकुमारी माविमा आवासीय सुविधा सहित पठनपाठनको व्यवस्था गर्ने निर्णय समेत गाउँकार्यपालिकाले गरेको छ ।

तर अभिभावकहरु भने उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका छन् । साविककै सरह कक्षा ५ सम्म संचालन हुनुपर्ने र दरवन्दी कटौती गर्न नहुने उनीहरुको माग छ । उक्त माग पूरा नभएसम्म विद्यालय नखोल्ने उनीहरुले बताउँदै आएका छन् ।

यता विद्यालयले आवश्यक समन्वय गरेर विद्यालय खुलाइदिन जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेको छ । विगत दश दिनदेखि विद्यालयको पठनपाठन बन्द हुदाँ बिद्यार्थीहरुमा मानसिक असर परेको भन्दै पठनपाठन सुचारु गर्ने वातावरण मिलाइदिन भन्दै विद्यालयले प्रशासन कार्यालयमा निवेदन समेत दिएको छ ।

प्रशासन कार्यालयले बिद्यार्थीको शिक्षा सम्बन्धी र बालबालिका सम्बन्धी मौलिक हक समेतको संरक्षण हुने गरी उचित प्रवन्ध गराउन पालिकालाई सुझाव दिएको छ । सोमवार पत्राचार गर्दै प्रशासनले विद्यालय व्यवस्थापन समिति र अभिभावकसँग आवश्यक छलफल नगरी शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा हाल आएर उक्त विद्यालयको तह घटाउने र शिक्षक दरवन्दी कटौती गर्ने निर्णयका कारण चालु शैक्षिक सत्रको पठनपाठनको नियमितता एवं गुणस्तर प्रभावित हुन जाने जनाएको छ ।

यता शिक्षा विकास तथा समन्वय इकाइले पनि बिद्यार्थीको पठनपाठनको हक सुनिश्चित हुने गरेर मात्र समायोजनको निर्णय लिनुपर्ने बताएको छ । इकाइ प्रमुख सुवास आचार्यले समायोजना पूर्व भएका बिद्यार्थीको पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्