
प्रभातकिरण माविको छात्रवास चर्किएर क्षतिग्रस्त
धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक विद्यालयको छात्रावास चिरा परेको छ । केहीदिनदेखि लगातार आएको बर्षाका कारण कक्षा ५ देखि कक्षा १० सम्मका ३४ जना विद्यार्थी र दुई जना शिक्षक बस्दै आएको छात्राबास भवन चिरा परेको हो ।
भवनको भुइँतलाको जमिन तल भासिएर धाँजा फाटेको र भवनको पेटी भन्दा माथिल्लो भाग सर्लक छुटिएर जोखिम बढेपछि छात्रावासका ३४ जना विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सारिएको प्रधानाध्यापक जीव गुरुङले बताए । ४ वटा कोठा भएको छात्रावासमा बस्दै आएका विद्यार्थीलाई विद्यालयको १, २ र ३ कक्षाको कोठामा सारिएको हो ।
गहिरो र फराकिलो भएर भित्रभित्रै चिरा परेका कारण जोखिम बढेपछि छात्राबासका विद्यार्थीहरु सार्नुपरेको उनले बताए । उनका अनुसार गाउँले सबै मिलेर छात्रावासबाट डबल बेड बाहेक अरु सबै सामग्री विद्यालयको कक्षा कोठामा सारिएको छ । विद्यालयबाट छात्रावास जान पैदल दुरीमा करिब १५ मिनेट लाग्ने उनले बताए ।
सो भवनमा एक साता अघिबाट नै भित्रभित्रै धाँजा फाट्ने क्रम सुरु भएको थियो । भदौ २ गतेदेखि परेको पानीका कारण बाटोदेखि तल छात्राबास भवन रहेको सबै जमिन चिरा प्रअ गुरुङले बताए । छात्रावासमा चुमनुव्री गाउँपालिकाको भालुवाङ, सल्लेरी, जगत, धार्चेको उहिया, आरुघाट, लाक्पाललगायतका ठाउँका विद्यार्थी आवासीय सुविधासहित अध्ययन गर्दै आएका थिए । यस क्षेत्रमा नजिकै विद्यालय नहुँदा विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययन गर्नुपर्ने बाध्यता छ ।
अहिले विद्यालयमा भने इसिटी र एक कक्षालाई एउटा कोठा र कक्षा २ र ३ कक्षाालाई एउटा कोठामासँगै बसेर पढाइरहेको उनले बताए ।
त्यस्तै, लापुवेशीमा मै प्रदेश र गाउँपालिकाको लगानीमा बहुवर्षीय योजना अन्तरगत प्रभात किरणको छात्रावास भवन निर्माण भइरहेको उनले बताए । गत वर्षबाट निर्माण सुरु भवन अहिलेसम्म ४५ प्रतिशत मात्र काम सकिएको उनले बताए ।
छात्रावासका लागि सो भवन छिटै निर्माण सम्पन्न गर्नुबाहेक अन्य विकल्प नभएको उनले बताए । विद्यालयको छात्रावासको समस्या समाधान गर्नका लागि विद्यालय व्यवस्थापन समिति, वडा र पालिकालाई जानकारी गराइएको उनले बताए ।
२०७२ वैशाख १२ को भूकम्पले भत्काएको विद्यालय तत्कालीन बेलायती राजकुमार ह्यारीले श्रमदानमा पुननिर्माण भएका हो ।




