| शनिबार, अशोज १६, २०८३

‘मनिष’ पाम गाउँका एक्ला बालक

डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका वडा नं. २ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो । गाउँको विद्यालय बन्द हुँदाको पीडा मत्थर पार्न त्यतिबेलाको जिल्ला शिक्षा कार्यालयले ‘कुनै पनि बेला फेरि सञ्चालन हुन सक्नेछ’, भन्ने उल्लेख गरेको थियो । तर १२ बर्ष बितिसक्दा पनि खुल्ने छाँटकाँट नदेखेपछि फेरि कुनैदिन सो स्कूल खुल्नेछ भन्ने आशा गाउँलेले मारिसकेका छन् ।

गाउँको शीरशोभाका रुपमा रहेको स्कूल अहिले खण्डहर बनेको छ । कहिले ठूलो झरी पर्ला भनेर पहिरिने मौका पर्खिरहेको छ ।
गोरखाको उत्तर पश्चिममा पर्ने नाम चलेको ‘पाम’ गाउँमा ३५ घर थिए । नेपाली, ब्रिटिश र इण्डियन बहालवाला र भूपू लाहुरेले गाउँ भरिभराउ थियो । गुरुङहरुको मात्र बसोबास रहेको सो गाउँ सम्पन्न र गुल्जार थियो । सुन्दर, शान्त र सुखी गाउँको नमूना थियो पाम ।

‘बाउलाई विदेश जाने भिसा लाग्नेवित्तिकै आमालाई बजार जाने भिसा लाग्दो रहेछ’,

‘त्यतिबेला विद्यालयमा राम्चे, खमारी र पामका गरेर ७०, ७५ जना विद्यार्थी हुन्थे’, पूर्व प्रधानाध्यापक आशबहादुर गुरुङ भन्छन्, ‘बसाइँसराइका कारण पछि यस्तो समय आयो कि, शिक्षक तीनजना, विद्यार्थी पाँच जना भए । अनि शिक्षा कार्यालयले हामी शिक्षकलाई वरपरको विद्यालयमा पठायो । ती विद्यार्थीहरु पनि कोही चित्रेपोखरी, कोही चिप्लेटी जान थाले ।’ त्यही बेलादेखि गाउँ बालबालिकारहित हुन थालेको उनको भनाइ छ ।

अहिले पाममा बालबालिकाको नाउँमा मनिष एक्ला छन् । १० बर्षका उनी चित्रेपोखरी माविमा कक्षा ६ मा पढ्छन् । उनीसंग स्कूल जाने साथीसंगी पनि छैनन्, गाउँमा खेल्ने साथी पनि छैनन् । घुलमिल हुने साथी नपाएपछि उनी स्कूल जाँदा बाहेक घरबाट बाहिर निस्कँदैनन् ।

‘स्कूल खुलेको बेला त दिनभरि स्कूलमै हुन्छ, विदा भएका बेलाचाहिँ घरबाट बाहिर निस्कँदैन । कहिलेकहीँ निस्कियो भने उपल्लो घरको ठूलीआमा भएको ठाउँमा जान्छ’, उनका बुबा सुकबहादुर गुरुङ भन्छन्, ‘उसले साथीभाइ भेट्ने भनेकै दशैँ तिहारमामात्र हो । काठमाडौँ, गोरखा, चितवन पढ्न गएकाहरु त्यतिबेला गाउँमा फर्कन्छन् ।’ आफू मिल्दो साथीसंगी नपाएपछि मनिष गाउँमा कसैसंग घुलमिल नहुने, गाउँ डुल्न पनि ननिस्कने उनी बताउँछन् । छोराको स्वभाव ‘एकलकाँटे’ भएकामा उनको चिन्ता छ ।

बजारमा राखेर पढाउने खर्च नभएर मनिषलाई घरमै राख्न बाध्य भएको सुकबहादुरको भनाइ छ । ‘सबैले छोराछोरीलाई बजारमा लगेका छन् । मेरोचाहिँ उपाय नभएर घरमै राखेको हो’, उनी भन्छन् ।

बालबालिका नभए पनि गाउँको सुन्दरता नै हराउने स्थानीयको भोगाइ छ । ‘बालबालिका भनेको गाउँको शोभा रहेछ’, स्थानीय हेमबहादुर गुरुङ भन्छन्, ‘बालबालिका नभएको गाउँ रमाइलो नहुने रहेछ ।’

पामका भूपू लाहुरेहरु अधिकांश गोरखाबजार, काठमाडौँ, चितवनमा बसोबास गर्छन् । बहालवाला लाहुरे भने जम्मा एकजना मात्र बाँकी छन् । तर लाहुरे नभए पनि युवाहरु यूरोप, अमेरिकातिर पढ्न र वैदेशिक रोजगारीमा जान थालेपछि गाउँ बालबालिका र युवाविहिन भएको उनको भनाइ छ ।

‘बाउलाई विदेश जाने भिसा लाग्नेवित्तिकै आमालाई बजार जाने भिसा लाग्दो रहेछ’, आशबहादुर गुरुङ भन्छन्, ‘बच्चा पढाउने निहुँमा काखको बच्चा लिएर बजार पस्छन् । अनि उसले उतै प्लसटु पास गरेपछि यूरोप, अमेरिका, अस्ट्रेलियातिर लागिहाल्छ । गाउँ फर्किने सम्भावना छैन ।’

पढ्न, रोजगारी गर्न बाहिर गएपनि आजका मितिसम्म कुनै घर पनि सँधैका लागि ढोका लागेको भने छैन । ‘जहाँ भए पनि दशैँ, तिहार चाडबाड गाउँमै मान्न आउँछन् । विहे, व्रतबन्ध, अर्घौँका रीतभात बुझाउन पनि गाउँमै आउँछन्’, अर्का स्थानीय एकबहादुर गुरुङ भन्छन्, ‘जहाँ बसेको भए पनि बेलाबेला ढोका खोल्न आउँछन् । खेतीपानी भित्र्याउन आउँछन्, त्यही भएर कुनै घर पनि बेवारिसे छैन ।’ आगामि दिनमा के होला भन्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्