
अब गोरखा नगरवासीलाई मोतियाविन्दुको शल्यक्रिया निशुल्क
गोरखा नगरपालिकावासीले मोतियाविन्दुको शल्यक्रिया निशुल्क गर्न पाउने भएका छन् । निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा संचालन गर्न गोरखा नगरपालिका र लायन्स आँखा सेवा केन्द्रबीच शनिवार सम्झौता भएको छ ।
नगरपालिकाका मेयर कृष्ण राना मगर र केन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । शल्यक्रियापछि प्रयोग हुने औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइने बताइएको छ । नगरवासीलाई निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा प्रदान गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ५ लाख रुपैया विनियोजन गरेको छ । रकम अपुग भए थप बजेट विनियोजन गरिने नगरपालिकाले जनाएको छ ।
केन्द्रले निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा प्रदान गरेको आर्थिक प्रतिवेदन मासिक रुपमा नगरपालिकालाई उपलब्ध गराउने र सोही अनुसार नगरपालिकाले केन्द्रलाई रकम भुक्तानी गर्ने सम्झौता पत्रमा उल्लेख छ । कार्यक्रमलाई सम्बोधन गदैै नगर प्रमुख रानाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले थप टेवा पुग्ने बताए । नगर उपप्रमुख मसली माया थोकरले नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा अन्तरगत मोतियाविन्दुको उपचार सहज र सरल बनाउन केन्द्रसँग सम्झौत गरिएको बताइन् ।
गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाका अध्यक्ष योङ कुमार श्रेष्ठले संविधानमा आँखाको उपचार आधारभुत स्वास्थ्य सेवा अन्तरगत पर्ने बताउदै अन्य स्थानीय तहहरुले पनि आफ्नो पालिकाबासीको निशुल्क शल्यक्रिया सेवाका लागि केन्द्रसँग सहकार्य गर्न आग्रह गरे ।
केन्द्रका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी, वडा नं ६, ७ र ८ का वडाध्यक्ष, केन्द्रका उपाध्यक्ष श्रवण कुमार जोशी, गोरखा लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्के लगायतको उपस्थिति रहेको थियो । सम्झौता भएलगतै शनिवार गोरखा नगरपालिकाका ८ जनाले सेवा समेत लिइसकेको केन्द्रले जनाएको छ ।




