
‘साउनभित्रै बिओपी स्थापना हुन्छ, नाका खुलाउने पनि तयारी छ’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन महिनाभित्रै उत्तरी गोरखामा बिओपी स्थापना हुने बताएका छन् ।
मंगलबार गृहजिल्लाका पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पहिलो चरणमा तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री १ साम्दोमा बिओपी स्थापना गर्ने बताएका हुन् ।
‘यही साउनभित्रै साम्दोमा बिओपी स्थापना हुनेछ’, उनले भने, ‘निर्णय भइसकेको छ । अब हेलिकोप्टर चार्टर गरेर सामान लैजान्छौँ । साउनको अन्तिमसम्म पनि कुर्नुपर्दैन छिट्टै हुन्छ ।
’ छेकम्पारतर्फ भने अहिले तत्काल बिओपी राख्ने निर्णय नभएको उनले बताए । सोही वडाको रुइला नाका पनि तत्काल खुल्ने उनले बताए । ‘अहिले मात्र पनि चीनको प्रतिनिधिमण्डलहरुसंग पनि कुरा भएको छ ।
एम्बास्डरहरुसंग पनि कुरा भएको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘नियमित कुराकानी भइरहेको छ । छिट्टै प्रक्रिया पूरा गरेर खुलाउछौँ भन्नु भएको छ ।
’ चुमनुब्री ७ छेकम्पारतर्फको ङुइला नाकाको बारेमा पनि छलफल अघि नबढेको उनले बताए । यो मात्र नभै यसअघि ट्रेडिङप्वाइन्टका रुपमा सञ्चालित नाकाहरु पनि खुलाउने बिषयमा छलफल अघि बढिरहेको उनले बताए ।




