| आइतवार, कार्तिक २२, २०८३

१ अर्व ३२ लाखको बजेट पास गर्दै गोरखा नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

गोरखा नगरपालिकाको १२ औ नगरसभा आइतवार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८०÷०८१ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो ।

नगरपालिकाको आगामि आर्थिकवर्षको बजेट १ अर्व ३२ लाख ६५ हजार रहेको छ ।

आइतवार बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मसलीमाया थोकरले पूर्वाधार विकास तर्फ १९ करोड ३४ लाख, सामाजिक विकास तर्फ ६ करोड ६१ लाख र आर्थिक विकास तर्फ १ करोड ८५ लाख रकम विनियोजन गरिएको बताइन् । उनका अनुसार वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ३ लाख र सुशासन तथा संस्थागत विकासतर्फ २० करोड ३४ लाख रकम विनियोजन भएको छ । नगरपालिकाभित्रका १४ वटा वडाका लागि प्रतिवडा ८० लाखका दरले कुल ११ करोड २० लाख बजेट विनियोजन गरिएको उपप्रमुखले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख छ ।

वसपार्कदेखि खोलखोलेसम्म नाला तथा फुटपाथ व्यवस्थानको लागि ८० लाख र बेनिखोला ताल निर्माण कार्यका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । बजार क्षेत्रको यातायात व्यवस्थापनको लागि खोलखोले र घ्याम्पेशालचोक धुनवासे क्षेत्रमा वसपार्क निर्माण तथा व्यवस्थापनको लागि ४० लाख विनियोजन गरिएको उपप्रमुख थोकरले बताइन् ।

छेवेटारमा क्रिकेट मैदान निर्माण तथा वडा नं १२ मा खेलमैदान निर्माणको लागि २० लाख र मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा सारङ्गी बजाउने तथा कर्खा सम्बन्धी अनुसन्धानको लागि ५ लाख विनियोजन भएको छ ।

गत आर्थिकबर्ष २०७९÷०८० मा गोरखा नगरपालिकालाई राजश्व र अनुदान तथा संघ र प्रदेश सरकार एवं नगरपालिकाको आन्तरिक स्रोत गरी कुल १ अर्व ७ करोड २८ लाख रुपैया संकलन भएको थियो । जसमध्ये ७६.२१ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । चालुतर्फ ८१.०६ र पुँजीगत तर्फ ६७.२५ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरसभा सदस्य तथा लेखा समिति संयोजक शितलकाजी मास्केले सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले नगरपालिका आन्तरिक राजस्व संकलनमा कमजोर देखिएकाले राजस्वको दायरा फराकिलो बनाउन र चालुतर्फ भन्दा विकास खर्चमा ध्यान दिन समेत सुझाव दिएका थिए ।

अनुमानित बजेटको तालमेल नमिलेका कारण स्टमेटका आधारमा बजेट विनियोजन हुनुपर्ने, नगरपालिकाको बेरुजु तथा इन्धन लगायतका खर्च कम गर्नुपर्ने, नगरपालिकालाई बढी व्ययभार पर्ने गरी विदेश भ्रमण कम गर्नुपर्ने लगायतका सुझावहरु उनले दिएका थिए ।

यस अघि नगरसभामा आर्थिक वर्ष २०७९÷०८० को आयव्ययको पुरा विवरण प्राप्त नभएको र पर्याप्त छलफल विना योजनाहरुमा बजेट विनियोजन गरिएको भन्दै मास्केले विरोध जनाएपछि केहि समयका लागि नगरसभा स्थगित भएको थियो । अनुमानका भरमा विभिन्न योजनामा बजेट विनियोजन गरिएकाले प्रस्तुत बजेट संशोधन गरेर मात्र पास गर्नुपर्ने अडान उनको थियो । गोनपासहित जिल्लाका सबै स्थानीय तहले बजेट पास गरेका छन् । केही पालिकाले केही दिनअघि नै पास गरेका थिए भने केही पालिकाले आइतवार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्