
गोरखा अस्पताललाई ५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
गोरखाका अस्पतालमा बाल चिकित्सा कक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मुटु फाउन्डेशनको समन्वय तथा मनोज एशोसिएसन फ्रान्स तथा हुमेड ब्रेस्ट फ्रान्स नामक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
शनिबार एक कार्यक्रमका बीच फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको रोहबरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, मेसु डाक्टर हरिकुमार श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
फाउन्डेशनद्वारा संचालित आमा माया परियोजना अन्तरगत ग्रामीण क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य उपचारमा सहयोग भन्ने उद्देश्यले सो स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । बाल चिकित्सा कक्षासहित मैट्रेस र साइड रेलहरू ५ सेट, बाल चिकित्सा उचाइ र वजन मापन स्केल २ सेट, बाल चिकित्सा ठूलो स्कोप एक सेट, भोल्युम इन्फ्यूजन पम्प एक थान, बाल चिकित्सा विपि दुई सेट, बाल औँला टिप्स एक थान लगायतका बच्चा वार्डमा चाहिने स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
गोरखा अस्पतालको अनुरोधमा फाउन्डेशनका अध्यक्ष गुरुङले उक्त सामग्री उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘हाम्रो आइसियु, एचडियुको व्यवस्था गरिसकेपछि बच्चा वार्ड त्यति व्यवस्थित हुन सकेको थिएन, बच्चा वार्डलाई राम्रोसँग व्यवस्थापन गर्नका लागि न्यूनतम मापदण्ड अनुसार चाहिने सम्पूर्ण सामग्री माग गरेको पठाएका थियाँै,’ उनले भने, ‘आज सबै सामग्री उपलब्ध भएको छ, स्टेशन बनाउने ७० हजार बराबरको र ४ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।’ फान्डेशनबाट बाल चिकित्सा कक्षाका लागि पाँच लाख बराबरको सामग्री स्वास्थ्य सामग्री प्राप्त भएको उनले बताए ।
अस्पतालको न्यूनतम सेवा मापदण्ड पु¥याउने गरी बाल चिकित्सा कक्षा संचालनका लागि उक्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुग्ने ढकालले जानकारी दिए । हाल बच्चाको वार्ड व्यवस्थि गर्ने चरणमा रहेको र छिट्टै बच्चाहरु खुसीका साथ खेल्न मिल्ने वातावरण निर्माण हुने उनले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसली माया थोकर, अस्पतालका मेसु हरि कुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष ऋषिराम केसी, मुटु फाउन्डेनका अध्यक्ष धनबहादुर गुरुङ, हुमेड ब्रेस्ट फ्रान्सका लुवाङ लगायतको उपस्थिति रहेको थियोे ।
सिम्जुङ, भच्चेक, घ्याच्चोक, बालुवा र थालाजुङ स्वास्थ्य चौकी समेतलाई गरी २० लाख रुपैया बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष गुरुङले बताए । शनिबार नै बारपाक सुलिकोट गाउँपालिकालाइ ७२ थान स्टेचर र भिडियो एक्स रे मेसिन प्रदान गरिएको उनले जानकारी दिए ।




