
गोरखालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा
गोरखालाई बुधबार पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका ९४ वटै वडाहरुमा पूर्णखोप दीगोपना तथा सुनिश्चितता कार्यक्रम सम्पन्न गरेपछि पालिकाहरुलाई घोषणा गरिएको र पालिकाको सकेपछि अहिले जिल्लालाई घोषणा गरिएको कार्यालय प्रमुख यमप्रसाद शर्माले बताए । उनका अनुसार गत जेठ २० देखि असार ६ गतेसम्म जिल्लाका सबै पालिकाहरुलाई पूर्ण खोप दीगोपना तथा सुनिश्चितता पालिका घोषणा गर्ने कार्य सम्पन्न भएको थियो । २०७५ सालदेखि जिल्लालाई हरेकबर्ष घोषणा गर्दै आएपनि कोभिडका कारण विगत तीन बर्षयता उक्त कार्यक्रमले निरन्तरता पाउन सकेको थिएन । यसबर्ष भने पुनः कार्यक्रमले निरन्तरता पाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले स्वास्थ्यकर्मीहरुको निरन्तर प्रयासका कारण पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्न सफल भएको बताए । हरेक स्थानीय तहले आफ्नो कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुटाउन उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख एवं जिल्ला खोप समन्वय समिति सदस्य सचिव शर्माले खोप कार्यलाई प्रभावकारी बनाउन सके धेरै बालबालिकाहरुको जीवन बचाउन सकिने बताए । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले नियमित रुपमा संचालन भइरहेको खोपका कारण बालबालिका मृत्युदरमा धेरै कमी भएको बताए ।
सरकारले प्रत्येक वर्षको माघदेखि चैत्र महिनासम्मलाई घरधुरी सर्वेक्षण गर्ने, वैशाख महिनालाई खोप महिना मनाउने र पूर्ण खोप घोषणा तथा दीगोपनाको कार्यक्रम हुने खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव शर्मा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, पालुङटार नगरपालिकाकी उपमेयर बन्दना पाण्डे, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसाल लगायतले मन्तव्य राखेका थिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षता तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




