
गोरखामा एसईई पुरक परिक्षाको केन्द्र तोकियो, १५ सय विद्यार्थी सहभागी हुने
दरौँदी ः आगामी साउन २३ गते देखि हुने एसइइ पुरक परिक्षाको तयारी सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा परिक्षाको विविध विषयमा छलफल गर्न बसेको बैठकले एसइइ पुरक वा गे्रड बृद्धिका लागि परिक्षा दिन तीन वटा विद्यालयलाई केन्द्र तोकिएको छ ।
सदरमुकामको महेन्द्र ज्योती माध्यामिक विद्यालय, शक्ति माध्यामिक विद्यालय र सरस्वती माध्यामिक विद्यालय आहालेलाई परिक्षा केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार जिल्लाभरबाट एक हजार पाँचसय ३४ जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन् । महेन्द्र ज्योती केन्द्रमा चारसय ८७ जना, शक्ति केन्द्रमा चारसय ५५ जना र सरस्वती मावि केन्द्रमा चारसय ७१ जना विद्यार्थीले ग्रेड बृद्धिको परिक्षा दिनेछन् ।
यस वर्ष सबै भन्दै धेरै विद्यार्थीले गणित विषयको परिक्षा दिनेछन् । गणितको परिक्षामा एक हजार चारसय १३ जना विद्यार्थी सामेल हुनेछन् । त्यस्तै अंग्रेजीमा एकसय ७३ जना, नेपालीमा १० जना, विज्ञानमा दुई सय ९२ जना, सामाजिकमा ७३ जना, स्वास्थ्य जनसंख्या तथा वातावरणमा ६ जना, ऐच्छिक गणितमा ७६ जना, अर्थशास्त्रमा एकसय ३७ जना, ऐच्छिक दोस्रो शिक्षामा १५ जना, कृषिमा ४, स्वास्थ्य शारीरिकमा १ जना विद्यार्थीले ग्रेड बृद्धिका लागि परिक्षा दिनेछन् ।
जिल्लाका विभिन्न एकसय १५ विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागि हुने प्रजिअ भट्टराईले जानकारी दिए । परिक्षालाई शान्तपूर्ण बनाउन सोमबार जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो ।




