
आफूलाई अपरेशन गरेर जन्माउने डाक्टर भेटिएपछि ………
कसैको जन्म घरमै त कसैको अस्पताल हुन्छ । परम्परागत जन्म सफल बनाउन घरमा सुँडेनी र धाइआमा खटिन्छन् । अस्पतालमा डाक्टर तथा नर्सहरु । आफू जन्मदा खटिने डाक्टर र नर्स बारेको कथा, कहानी धेरैले आमाबाबुबाट सुनेका मात्र हुन्छन् ।
तर गण्डकी गाउँपालिका ७ धवादीघाटकी १३ वर्षीया आयुषा तिमिल्सिनाले आफू जन्मदा आफ्नी आमाको अपरेशनमा खटिने डाक्टर गुणराज लोहनीसंग बुधवार भेट्ने अवसर पाइन् ।
उनीहरुका बीच अकस्मात जम्काभेट मात्र भएन, रोमाञ्चक भलाकुसारी पनि भयो ।
गोरखा नगरपालिका ६ पाटेचौरमा वासु स्मृति प्रतिष्ठानको भवन ढलान हुदै थियो । बुबा अकुर तिमिल्सिना ढलानको रेखदेख गर्नमा व्यस्त थिए । द वल्ड क्यापिटल बोर्डिङ स्कूलमा कक्षा आठमा पढ्ने आयुषा कोठामा नगै बुबालाई भेट्न सिधै भवन निर्माण स्थलमा पुगिन् ।
ढुंगागाढेको स्वास्थ्य शिविरमा सहभागी भएर डाक्टर लोहनी गोरखा बजार फर्कदै थिए । सोही भवन ढलान भएको स्थानमा आइपुगेका डाक्टर लोहनीसित आयुषाको जम्काभेट भयो ।
बुबाले मद्दत नगरी उनले यसै चिन्ने कुरै भएन । ‘आमाको अपरेशन गरेर तिमीलाई यो धर्तीमा जन्मदिने डाक्टरसाब उहाँ नै हो’, डाक्टर लोहनीतिर देखाउँदै अकुरले आयुषालाई भने । छोरीले सँधै आफूलाई जन्माउन मद्दत गर्ने डाक्टरसित भेटाइदिन अनुरोध गर्ने गरेको उनले बताए ।
‘उहाँसित भेटाइदिनु । उहाँसङ भेटेर धेरै कुरा गर्न र सँगै तस्वीर खिचाउन मन छ । उहाँजस्तै डाक्टर बन्ने मेरो सपना छ भनेर बारम्बर हामीलाई अनुरोध गरिरहन्थिन्’, तिमिल्सिनाले भने, ‘बुधबार अकस्मात भेट्ने मौका मिल्यो । हामी सबै खुशी भयौँ ।’
बेलाबेला युटुवमा देख्दा रोमाञ्चित भएकी आयुषाले डाक्टर लोहनीलाई एक्कासी सामुन्ने पाएपछि खुशीको सीमा रहेन । नमस्कारको मुद्रामा डाक्टरतिर हेरेको हेरै भइन् । डाक्टर लोहनी पनि उनीतिर हेरेर मुसुमुसु हाँसिरहे ।
‘नाम के हो ?’
‘आयुषा’
‘पढाइ कस्तो छ ?’
‘राम्रै छ ।’
‘ल, राम्रोसित पढ्नुपर्छ है । पढेर ठूलो मान्छे बन्नुपर्छ, राम्रो मान्छे बन्नुपर्छ’, आशिर्वचन दिँदै डाक्टर लोहनीले आयुषालाई धाप मारे । खुशीले गद्गद् भएकी आयुषा किंकर्तव्यविमुढ भइन् । ‘हस्’ भन्दा धेरै बोल्न पनि सकिनन् ।
२०६७ सालको माघ २७ गते आयुषा गोरखा अस्पतालमा जन्मेकी थिइन् । त्यतिबेला माओवादीको पालुङ्टार विस्तारित बैठक भर्खर सकिएको थियो । पार्टीको तीब्र गतिविधिमा अकुर व्यस्त थिए । पत्नी हिरा सुत्केरी व्यथा लागेपछि गोरखा अस्पतालमा भर्ना भएकी थिइन् ।
‘१३ बर्षअघिको गोरखा अस्पतालमा न दक्ष जनशक्ति धेरै थियो, न प्राविधिक उपकरण नै । रगत दिनुप¥यो भने कसरी व्यवस्था गर्ने भन्ने पनि अन्यौलै थियो । सुत्केरी गराउन धेरै जोखिम मल्नु पथ्र्यो’, डाक्टर लोहनीले भने, ‘तैपनि आफ्नो कर्तव्यबाट पन्छिनु हुदैनथ्यो । त्यसैले जोखिम मलेर अपरेशन गरेर सुत्केरी गराउनु परेको थियो ।’ जोखिमपूर्वक सुत्केरी गराएर जन्मेको बच्चा ठूलो भएको देख्दा आफूलाई पनि खुशी लागेको डाक्टर लोहनीको भनाइ छ ।
‘आमाको अपरेशन गरेर मलाई जन्मदिने डाक्टर गुणराज लोहनी हो भनेर म पाँचकक्षा पढ्दा आमाले सुनाउनु भएको थियो’, आयुषाले भनिन्, ‘त्यतिबेलादेखि नै मलाई उहाँ (डाक्टरसाव) संग भेट्न साह्रै मन लागेको थियो । बेलाबेला युटुवहरुमा उहाँको इन्टरभ्यूहरु पनि हेरेको थिएँ । आज उहाँलाई भेट्न पाउँदा असाध्यै खुशी लाग्यो ।’ डाक्टरले धेरै पढेर राम्रो मान्छे बन्न सुझाव दिएको उनले स्मरण गरिन् । आफ्नो पनि डाक्टर बन्ने लक्ष्य रहेको उनले सुनाइन् ।




