| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको नीति तथा कार्यक्रम : साहसिक पर्यटन स्थलको रुपमा बिकास गरिने, सुरक्षित सुत्केरी पालिका घोषणा गर्ने योजना

धार्चे गाउँपालिकालाई साहसिक पर्यटन स्थलको रुपमा बिकास गर्नेनीति पालिकाले लिएको छ । आगामि आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले रक क्लाइम्बिङ, क्यानोनिङ, प्याराग्लाडिङ, भियाफतरा, माउन्टेन साइक्लिङ, ¥याफ्टिङ र जिपफ्लायरको पूर्वाधार निर्माण कार्यको थालनी गर्ने योजना सार्वजनिक गरे ।

आगामि तीन बर्षभित्र यस कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए । न्याउली झरना, तातोपानी कुण्ड, इमानसिंङ पार्क, गुप्सीपाखा नमुना बस्तीलाई पर्यटकीय स्थलको रुपमाप्रवद्र्धन गर्ने नीति समेत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका भित्रका सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने र ‘घरमा सुत्केरी सुन्य वडा’ घोषणाका लागि आवश्यक कार्यक्रमहरू संचालन गर्ने पालिकाको योजना छ । सतप्रतिशत संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा गर्ने नीति पालिकाले लिएको छ ।

जडिबुटी खेतीको अध्ययन अनुसन्धान गरी खेती विस्तार गर्ने र धार्चेलाई आलु, कफी, सिलम, किबी तथा तरकारी उत्पादनको पकेट क्षेत्र घोषणा गर्ने योजना पालिकाको छ । गुम्दामा निर्माणाधीन आलु चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न गर्ने र धार्चे लेकमा रहेको भेडा पालन व्यवसायलाई व्यवसायिकरण गर्न भेँडापालक किसानलाई सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्ने पालिकाले जनाएको छ ।

विद्यालय क्षेत्रबाट एकसय मिटर वरिपरि सुर्तीजन्य एवंमदिराजन्य पदार्थको बिक्री वितरणलाई पूर्ण रुपमा निषेध गरिने बताइएको छ । विद्यालयमा जंक फुडलाई निषेध गरिने भएको छ । विद्यालयहरुमा दिवा खाजाका रुपमा स्थानीय खाद्यान्न एवम परिकारलाई प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि धार्चेको शिक्षाको १० वर्षे लक्ष्य सहित ५ वर्षे स्थानीय शिक्षा योजना निर्माण र कार्यान्वयन गर्ने नीति लिइएको छ ।

उत्पादनमा आधारित कृषि र पशुमा अनुदान दिने, धार्चे गाउँपालिका केन्द्र माछाखोलामा एक सय ३२ केभिएको सवस्टेशन लाइन निर्माण गर्न पहल गर्ने र सड़क मापदण्ड तयार गरी पालिकाभित्रको सडकको वर्गीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाले आगामी आर्थिक वर्षको ४८ करोड ५२ लाखको अनुमानित बजेट समेत प्रस्तुत गरेको छ । पुँजीगततर्फ १७ करोड २७ लाख र चालतर्फ ३१ करोड २५ लाख रकमको बजेट प्रस्तुत गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्