| आइतवार, कार्तिक २२, २०८३

सुरक्षा माग गर्दै लघुवित्त वैंकर्स संघ गोरखाद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल लघुवित्त बैकर्स संघ गोरखाले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय स्तरको कार्यक्रम अन्तर्गत संघका जिल्ला स्थित लघुवित्त संस्थाका पदाधिकारीहरुले सोमवार गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

पछिल्लो केही समयदेखि केही ब्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत् संस्थाहरुको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोवल गिराउने जस्ता अराजक गतिविधि गरिरहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । उनका अनुसार संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरु मार्फत् ज्ञापन पत्र बुझाएको छ ।

विभिन्न २१ वटा लघुवित्तका प्रतिनिधिहरुले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मी हरुलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयवाट नै ज्ञापन पत्र बुझाइएको हो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाल लघुवित्त बैंकर्स संघले लोकतान्त्रिक प्रक्रिया अपनाई आफ्नो माग राखेकोमा धन्यवाद दिदैं यस घटनाप्रति ध्यानाकर्षण भएको र त्यसको समाधानको लागि आफू प्रतिवद्ध रहेको तथा शान्ति सुरक्षाको सवालमा कुनै कसर बाँकी नराखिने आश्वसन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्