
सडक नहुँदा आलु बेच्न नपाएपछि उत्तरी गोरखाका किसान चिन्तित
पहिरोका कारण सडक अवरुद्ध हुदाँ उत्तरी गोरखाका किसानहरुले उत्पादन गरेको आलु बिक्री गर्न पाएका छैनन् । मुख्य आयस्रोतको रुपमा लिइने खाद्यान्न आलु बिक्री गर्न नपाउँदा गुम्दा, लाप्राक लगायतकाकिसानहरु चिन्तित छन् ।
बर्षातका कारण गएको पहिरोले सडक अवरुद्ध हुदाँ ढुवानीमा समस्या भएको गुम्दा आलु उत्पादन कृषक समूहका अध्यक्ष कर्ण माइला गुरुङले बताए ।
उनका अनुसार गुम्दा–माछाखोला गुम्दा लाप्राक हुदै बारपाक जाने सडकखण्ड दुवै पहिरोका कारण अवरुद्ध छन् । ‘हामीले उत्पादन गरेको आलु आरुघाट, बारपाक सुलिकोट, गोरखा बजार, पोखरा, काठमाडौ लगायतका स्थानमा विक्री गर्ने हो,’ उनले भने, ‘अहिले बाटो बन्द भएर लान पाएका छैनौ ।’ उत्पादन भएको आलु किसानले घरमै थन्क्याएर राखेको उनले जानकारी दिए ।
अघिल्लो बर्षभन्दा यस बर्ष आलु धेरै उत्पादन भएको उनले बताए । गुम्दामा मात्रै करिब ५० देखि ६० टन आलु उत्पादन भएको उनको अनुमान छ ।
जेठ, असार र साउन महिनामा किसानहरुले उत्पादन गरेको आलु खन्ने गर्छन् । अधिकांश किसानले आलु खनिसके तर, बाटोकै कारण बिक्री गर्न लान पाएका छैनन् ।
गुम्दामा हाल निर्माधिन अवस्थामा रहेको कोल्ड स्टोर सम्पन्न नहुँदा समस्या भएको किसानहरुको गुनासो छ । ‘कोल्ड स्टोर निर्माण भएको भएपनि बिक्री नहुदाँसम्म आलु भण्डारण गर्न मिल्थ्यो तर त्यो पनि भएन,’ गुरुङले भने ।
अवरुद्ध सडकमा पहिरो हटाएर यातायात सुचारु गर्ने वातावरण बनाउन किसानहरुले माग गरेका छन् ।




