| शनिबार, अशोज १६, २०८३

चुमनुब्री गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

जिल्लामै पहिलो पटक चुमनुब्री गाउँपालिकाले १३ औ गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँसभामा आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुमोदन भएको छ । ‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन, समृद्ध चुमनुब्री’ भन्ने नाराका साथ पालिकाले आइतबार आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आइतबार पालिकाका प्रमुख निमा लामाले सार्वजनिक गरेको नीति कार्यक्रममा निषेधित क्षेत्र खुल्ला गर्ने देखि पालिकाको भवन निर्माण गर्ने कुराहरुलाई जोड दिएका छन् ।

चुमनुब्री गाउँपालिकाको स्वास्थ्य, शिक्षा, पूर्वाधारहरुको आगामी चार वर्षको गुरुयोजना तयार भएको पालिका अध्यक्ष निमा लामाले बताए । पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उत्तरी क्षेत्रको छेकम्पारको ङुइला क्षेत्रको नाका र सामागाउँको रुइला नाका खुल्ला गर्न कुटनीतिक माध्यमबाट सरकारसँग पहल गर्ने, निषेधित क्षेत्र खुल्ला गरी खुल्ला पर्यटकीय नीति अबलम्बन गर्ने र गाउँपालिकाको प्रशासकीय भवनलाई केन्द्रिय सरकारसँग समन्वय छिटो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

त्यस्तै, मनास्लु पर्यटकीय पदमार्गलाई स्तरउन्नति गरिने, उत्तर दक्षिण लोकमार्ग अन्तरगत छेकम्पार सामागाउँ जोड्ने सडकखण्डलाई प्राथमिकताका साथ अघि बढाउने, गाउँपालिकाको सदरमुकाम जोड्ने मोटररेबल पुललाई अघि बढाउने, गाउँपालिकालाई प्लाष्टिक, सिसाबाट प्रदुषण मुक्त क्षेत्र घोषणा गर्ने पनि अध्यक्ष लामाले जानकारी दिए । पालिकाभित्रका सबै सरकारी कार्यालयमा नागरिक वडापत्र अनिवार्य व्यवस्था गर्ने, शिक्षक, सरकारी कर्मचारी, गाउँ कार्यपालिकाको वार्षिक क्यालेन्डर तयार गर्ने, सम्पूण सरकारी कार्यालयको जिन्सी सामग्री दुरुस्त राख्ने पनि नीति तथा कार्यक्रम उल्लेख गरिएको उनले बताए ।

त्यस्तै, आइतबार नै चुमनुब्री गाउँपालिकालाई पूर्ण खोप सुनिचितता तथा दिगोपना पालिका घोषणा भएको छ । पालिका भित्रका लक्षित बालबालिकाहरुमा सबै प्रकारको खोप लगाएको प्रमाणित भएसँगै पालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्