
घ्याम्पेसालमा भएको आँखा शिविरमा तीन सय बढीले सेवा लिए
भीमसेन थापा गाउँपालिका–१ मा आँखा जाँच शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखा र गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा बुधबार भएको शिविरमा तीन सयभन्दा बढीले आँखा जाँच गराएका छन् ।
१ सय ४० जना पुरुष र एक सय ७१ जना महिलाले आँखा जाँच गराएको रेडक्रस घ्याम्पेसाल उपशाखाका सचिव ढकनाथ बस्ताकोटीले बताए । आँखा जाँच गराएकामध्ये १७ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको उनले जानकारी दिए ।
शिविरमा आँखा परिक्षण गरेको विरामीहरुलाई निुशल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा रेडक्रसको घ्याम्पेशाल उपशाखालाई जग्गा उपलब्ध गराउने स्थानीय नारायण पाण्डेलाई सम्मान समेत गरिएको छ ।
उपशाखाका उपसभापति राजन ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति यदु विलास भट्टराई, लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्य, बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष शरण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




