| मङ्लबार, कार्तिक २४, २०८३

सिरानचोक पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सिरानचोक गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । पालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई लगाउनुपर्ने सबै खोप लगाएसँगै विहिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्रका १५ महिना सम्मका ३ सय ३० जना बालबालिका र १६ देखि ५९ महिनाका ७ सय ९७ जना बालबालिकाले पुर्णखोप प्राप्त गरेसँगै पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए ।

फागुन र चैत्र महिनामा घरधुरी सर्वेक्षण गरी लक्षित समूहका बालबालिकालाई पालिकाले खोप लगाएको थियो । खोप लगाउन छुटेका बालबालिकाहरुलाई बैशाख महिना खोप लगाइएको श्रेष्ठले बताए । उनका अनुसार १५ महिना भित्रका बालबालिकाले बिभिन्न समयमा गरी १३ वटा रोग विरुद्धको खोप लगाउनुपर्छ । वडाभित्र लक्षित समूहका सबै बालबालिकाले खोप पाएपछि आवश्यक अनुगमन गरेर वडा खोप समन्वय समितिले पालिकामा प्रतिवेदन बुझाउँछ ।

प्रतिवेदन प्राप्त भएपछि पालिकाको खोप समन्वय समितिले अनुगमन गरेर जिल्ला खोप समन्वय समितिलाई प्रतिवेदन बुझाउँछ । प्रतिवेदन प्राप्त भएपछि जिल्ला खोप समन्वय समितिले आवश्यक अनुगमन गरी पूर्ण खोपसुनिश्चितता पालिका घोषणा गर्ने व्यवस्था रहेको छ । सोही प्रक्रिया पुरा गरेर पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष रिता देवकोटा, स्वास्थ्य कार्यालय गोरखाका नरजङ ठकुरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, पालिका र वडाका जनप्रतिनिधी,स्थानीय लगायतको सहभागिता रहेको थियो । भीमसेन थापा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्