| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा अनुमति लिएको स्थानभन्दा अन्यत्र चलेका एम्वुलेन्सलाई कारवाही गरिने

अनुमति लिएको स्थानभन्दा अन्यत्र संचालन भएका एम्वुलेन्सलाई कारवाही गरिने भएको छ । जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिको शुक्रवारको बैठकले जिल्लाबाहिर रही संचालनमा रहेका एम्वुलेन्सलाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिका अनुसार गोरखा नगरपालिका–८ स्थित कोमलबहादुर स्मृति प्रतिष्ठान, सिरानचोक गाउँपालिकास्थित भीमसेन स्मृति प्रतिष्ठान, गण्डकी गाउँपालिका फुजेलस्थित काजीमान स्मृति प्रतिष्ठान, गोरखा नगरपालिका हरमटारीस्थित उद्यमशील सहकारी संस्था र गोरखा उद्योग वाणिज्य संघ मनकामना इकाइको नाममा रहेको एम्वुलेन्सहरु जिल्लाबाहिर संचालन भएका छन् ।

ती एम्वुलेन्सलाई नियन्त्रणमा लिएर एम्वुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्न ट्राफिक प्रहरीलाई भनिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

एम्वुलेन्स चालकहरुको मादक पदार्थ सेवन चेकजाँच गर्न पनि भनिएको उनले जानकारी दिए । ‘जिल्लाभित्रको अनुमति लिएर जिल्ला बाहिर संचालन भए र एम्वुलेन्स चालकले यात्राको क्रममा मापसे गर्ने गरेको भन्ने गुनासो पनि आएकाले यो निर्णय गरेका हौँ,’ प्रजिअ भुसालले भने ।

स्थानीय तहमा रहेका एम्वुलेन्सको विवरण संकलन गरी राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ ले तोकेका शर्तहरु पालना भए नभएको र स्थानीय तहलाई थप एम्वुलेन्स आवश्यक रहे नरहेको एकीन गरी विवरण बुझाउन स्वास्थ्य कार्यालयलाई भनिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्