
अव राहदानी सेवा विहान ६ देखि साँझ ६ बजे सम्म खुल्ने
जिल्ला प्रशासन कार्यालय गोरखामा अबदेखि राहदानी सम्बन्धी सेवा दुई चरणमा संचालन गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीको चापलाई मध्यनजर गर्दे विहान ६ बजे देखि साँझ ६ बजे सम्म सेवा प्रदान गर्ने भएको हो ।
यसअघि सरकारी नियम अनुसार विहान १० बजे देखि पाँचबजेसम्म मात्र सेवा प्रवाह हुदै थियो । अव भने हरेक दिन विहान ६ बजे देखि साँझ ६ बजेसम्म राहदानीको बायोमेटिूक विवरण संकलन तथा राहदानी वितरण कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए । सेवाग्राहीको अत्याधिक चाप बढ्दै गएकाले दुई चरणमा सेवा संचालन गरिएको उनले बताए ।
साथै कार्यालयबाट राहदानीको लागि मिति र समय लिएका सेवाग्राहीहरु तोकिएकै मिति र समयमा उपस्थित हुन समेत उनले आग्रह गरे । सो मितिभन्दा अघि पछि आउने सेवागा्रहीलाई सेवा दिन नसकिने समेत उनले बताए ।
त्यस्तै, विद्युतीय राहदानीको अनलाइन फारम भरिदिने व्यक्ति वा संस्थाले नक्कली अभिलेख राख्दै फारम बुक गर्ने गरेको गुनासो आएको प्रशासन कार्यालयले जनाएको छ ।
कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्यूट, स्टेशनरी र फारम भर्ने व्यक्ति तथा संस्थाहरुले एकै व्यक्ति वा फरक(फरक व्यक्तिको नाममा नक्कली अभिलेख राखेर आवेदन फारम बुक गर्दा सर्वसाधारणहरुले लामो समयसम्म फारम भर्ने मौका नपाएको गुनासो आएको प्रशासने जनाएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यस्तो क्रियाकलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै प्रशासनले राहदानीका लागि मिति र समय लिएका सेवाग्राहीलाई तोकिएकै समयमा सेवा लिन आग्रह गरेको छ । अन्यथा सेवा प्रवाह नहुने कार्यालयले जनाएको छ । कार्यालयले साताको प्रत्येक शुक्रवार दिउँसो २ बजेबाट निश्चित संख्यामा फारम खोल्ने व्यवस्था गर्दै आएको छ ।




