
शिक्षक किचलोका कारण तारा माविको पठनपाठन प्रभावित
शिक्षकको किचलोका कारण गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविको पठनपाठन केही दिनदेखि प्रभावित बन्दै आएको छ । गलत आचरणको कारण देखाउँदै दुई शिक्षकलाई अन्यत्र सरुवा गर्न विद्यालयले माग गरेपछि उत्पन्न विवादले पठनपाठन प्रभावित बनेको हो ।
आचरणमा समस्या देखाउँदै विद्यालयले निमावि तहका बिज्ञान विषय पढाउने शिक्षक बिनोद पाण्डे र प्रावि तहका शिक्षक शिवराज पन्तलाई अन्यत्र सरुवा गरिदिन माग गरेको हो ।
‘शिवराज सर प्राय रक्सी खाएर स्कुल आउने, बिनोद सर नियमित रुपमा पढाउन नआउने समस्या देखियो,’ विद्यालयका प्रधानाध्यापक बाबुराम बिकले भने, ‘पटक–पटक सम्झाउँदा पनि अटेरी गरेपछि जेठ ३ गते विद्यालय व्यवस्थापन समिति, गुणस्तर लेखाजोखा समिति, स्थानीय जनप्रतिनिधि र बुद्धिजिवीहरुको संयुक्त बैठक बसेर उहाँहरुलाई अन्यत्र सरुवा गरिदिन नगर शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय गरेका हौँ ।’ सिफारिस गरदिन माग गर्दै वडा कार्यालयमा पनि निवेदन दिएको उनले बताए । ती दुई शिक्षकलाई अन्यत्र सरुवा गरिदिन आग्रह गर्दै वडा कार्यालयले पनि नगर शिक्षा शाखालाई सिफारिस समेत गरेको छ । तर शिक्षा शाखाबाट कुनै प्रतिक्रिया नआएको वडाध्यक्ष प्रदीप कुँवरले बताए ।
बिनोद पाण्डे २०६१ सालदेखि सो विद्यालयमा अध्ययापन गराउँदै आएका छन् । विज्ञान बिषयको मावि दरवन्दी नहुँदा उनले मावि तहमासमेत पढाउँदै आएका थिए । २०६७ सालमा विज्ञानको मावि दरवन्दी आएपछि उनको अध्ययापन आठ कक्षासम्म मात्र सिमित भयो । सोही बिषयमा असन्तुष्टी जनाउँदै पाण्डेले अध्यापनमा लापरवाही गर्न थालेको प्रधानाध्यपाक बिक बताउँछन् ।
‘सामाजिक वा नेपाली बिषयको दरवन्दी ल्याएको भए हुन्थ्यो मलाई हटाउन विज्ञान बिषयकै दरवन्दी ल्याउनुभयो भनेर मसँग असन्तुष्टि पोख्नुभयो,’ बिकले भने । त्यसयता उनले तहगत रुपमा मात्र पढाउछु भन्दै ६ देखि ८ कक्षासम्म मात्र पढाउन थालेका प्रअ विकले बताए । उनका अनुसार यसबर्षबाट पाण्डेलाई कक्षा ५ मा पढाउन लगाए पनि आनाकानी गरेका थिए ।
‘मावि दरवन्दी खासै नभएको विद्यालयमा सबै शिक्षक मिलेर पठनपाठन गराउनुपर्छ भन्यौँ तर, उहाँले म तहगत स्थायी भएकाले ६ देखि ८ कक्षासम्म बिषयगत हिसावले बिज्ञान मात्र पढाउछु भन्नुभयो,’ बिकले भने । उनका अनुसार त्यसयता उनले अध्यापनमा रुचि देखाएका छ्रैनन् ।
कक्षामा बिद्यार्थीलाई स्वअध्ययन गर्न भन्दै लत्तो छाडेको आरोप उनीमाथि छ । विद्यालयमा नियमित समेत नभएपछि सरुवाका लागि नगर शिक्षा शाखामा पत्राचार गरिएको प्रधानाध्यापक बिकले बताए । ‘हामीले सरुवा गर्न माग गरेर पठाएपछि उहाँ करिव आठ÷दश दिन विद्यालय नै आउनुभएन, धेरै दिनपछि आज(मंगलबार) चाहि आउनुभयो,’ उनले भने ।
यता शिक्षक पाण्डेले भने राजनीतिक आस्थाका आधारमा आफूलाई पेल्न खोजिएको बताए । ‘म निमावि तहको शिक्षक हुँ । मलाई निमावि तहको कक्षा मात्र दिनुस् भन्दा मान्नुभएन । विज्ञान बिषयमात्र दिनु भन्दा पनि कक्षा ५ मा स्वास्थ्य बिषय राखिदिनुभयो’, उनले भने, ‘मैले नतिजा राम्रो दिन सक्दिन भने, त्यही आधारमा मेरो सरुवा माग गर्नुभयो ।’ सरुवा गर्न माग गर्दै निर्णय गरेको दिनदेखि आफू विद्यालय नगएको उनले स्वीकार गरेका छन् । जिल्लान्तर सरुवा भएर जानका लागि विद्यालयमा निवेदन समेत बुझाएको उनले जानकारी गराए ।
शिवराज पन्त मापसे गरेर विद्यालय आउने भएकाले सरुवाका लागि माग गरिएको विद्यालयले जनाएको छ । ‘उहाँ झन् पुरानो शिक्षक तर दिउँसै रक्सी खाएर स्कुल आउने, अब यसो गर्नुभयो भने कारवाही गर्छु भन्यो भने मेरो जागिर खाने भन्दै उल्टो थर्काउने गर्नुहुन्थ्यो, त्यसैले उहाँलाई पनि सरुवा गरिदिन माग गरेका हौँ’, बिकले भने ।
उनका अनुसार ती दुई शिक्षकलाई अन्यत्र सरुवा गरी सट्टामा अर्काे शिक्षक व्यवस्था गरिदिन विद्यालयले नगर शिक्षा शाखासँग माग गरेको छ ।
यता शिक्षक पन्तले भने आफू मापसे गरेर विद्यालय नगएको दाबी गरेका छन् । ‘पहिले खान्थेँ, तर अहिले छाडिसकेको छु तर पनि रक्सी खान्छ भनेर सरुवा गर्न माग गरेछन्,’ उनले भने ।
नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का भने सरुवा गर्न समस्या नभएपनि अर्काे शिक्षक व्यवस्थापनमा समस्या हुने बताउँछन् । ‘शिक्षक दिन नगरपालिकालाई समस्या छ, बिषय मिल्दोजुल्दो हुनुप¥यो, जथाभावी सरुवा गरेर पनि भएन,’ उनले भने, ‘दुवै पक्षलाई बोलाएर छलफल गराएका छौँ, एक आपसमा मिल्नुस् भनेर पठाएका छौँ ।’ उहाँहरुको आचरण सुधार नभए काजमा अन्यत्र सरुवा गरिने उनले जानकारी दिए ।




