| शनिबार, अशोज १६, २०८३

सेवासुविधा थप नगरेको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित

न्यून बेतनमा कार्यरत सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वका लागि बजेट विनियोजन नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदमा आबद्ध कर्मचारीहरुले आइतवार शिक्षा बिकास तथा समन्वय इकाइको कार्यालय परिसरमा धर्ना दिएका छन् ।

आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बँुदा नं १२७ मा कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायीत्वको बिषयमा उल्लेख भएपनि बजेटमा नसमेटिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् ।

बजेटको संशोधन गरी बिद्यालय कर्मचारीको सेवा सुविधा संबोधन गर्न उनीहरुले माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै परिषदका जिल्ला अध्यक्ष बाबुराम पनेरुले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु न्यून तलवमा काम गर्न बाध्य हुदै आएको बताए ।

२०६७ सालमा सर्वाेच्च अदालतले विद्यालय कर्मचारीहरुका लागि छ महिनाभित्र सेवा–सुविधाको नियम बनाएर शिक्षक सरह सेवा सुविधा दिन आदेश दिएपनि कार्यान्वयन नभएको उनले जानकारी दिए ।

जेठ २६ गतेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिदै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । उनका अनुसार जेठ २७ गतेबाट असार १ गतेसम्म काठमाडौको भद्रकालीमा रिले अनसन बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गराउने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्