| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे र बारपाक सुलिकोटका चार स्थानमा खानेपानी योजना निर्माण

धार्चे गाउँपालिका–७ भिरकुनाको ४० भन्दा बढी घरधुरीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण भएको छ । सिङला नेपाल सुइस भिए हिमालय यात्राको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो ।

लापुको लेक स्थित मुहानबाट पानी ल्याएर गाउँ नजिकैको निर्माण गरिएको ट्यांकीमा जम्मा गरिएको छ । सोही ट्यांकीबाट प्रत्येक घरमा जडान गरिएको धारामा पानी वितरण हुने बताइएको छ । ‘पहिले प्रदेश सरकारको एक घर एक धारा अभियान अन्तरगत सबैको घरमा धारा जडान भएको थियो, भूकम्प र बाढी पहिरोले धारामा पानी आउनै छाड्यो’, संस्थाका अध्यक्ष राम बहादुर(सुक) गुरुङले भने, ‘अहिले छुट्टै मुहानबाट पानी ल्याएर घरघरको धारामा आउने बनाएका हौ ।’ आयोजनाको एक कार्यक्रमका बिच पालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका छन् ।

खानेपानी निर्माण भएसँगै स्थानीय खुशी छन् । तर भिरकुनाको सबै घरमा खानेपानी सुविधा नपुगेको भिरकुना खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरि गुरुङले बताए । ‘यहाँ एक सय ७० भन्दा बढी घरधुरी छन्, अहिलेको खानेपानीले एक दुइ टोललाई मात्र पुग्छ,’ उनले भने । अन्य स्थानमा खानेपानी वितरणका लागि पालिका, प्रदेश सरकारसँग थप बजेट माग गरिएको उनले बताए ।

संस्थाले बिभिन्न चार स्थानमा धारा सहित पानी ट्याङ्की निर्माण गरेको छ । धार्चे गाउँपालिका–२ केरौजा र बारपाक सुलिकोट गाउँपालिका–४ को टुक्राङ सल्लेरी र बजीनिमा गाउँमा पनि खानेपानी सेवा पु¥याएको छ । संस्थाले केरौजामा १२ सय मिटरको पाइप विछ्याउनका साथै २० हजार लिटर ट्याङ्की र १४ वटा धारा निर्माण गरेको छ । यसबाट एक सय २० घरधुरी लाभान्वित हुनेछन् ।

त्यस्तै संस्थाले बारपाक सुलिकोट गाउँपालिका वडा न. ४ का टुक्राङ सल्लेरी र बजीनि गाउँमा खानेपानी निर्माण गरिएको छ । टुक्राङ सल्लेरीमा पानीको मुहानबाट बस्ती सम्म १५ सय मिटरको पाइप विछयाएको र ५ हजार लिटर टयाङकी निर्माण गरिदिएको छ ।

सोहि वडा नं ४ को बजीनिमा पानीको मुहान देखि बस्तीमा ६ सय मिटर पाइप विछ्याए र ५ हजार लिटर टयाकी निर्माण गरिदिएको छ । यहाँ संस्थाले ७ वटा वटा धारा निर्माण गरिदिएको संस्थाका अध्यक्ष गुरुङले बताए । वैशाख अन्तिमबाट सुरु भएको खानेपानीको निर्माण कार्य जेठ महिनामा सम्पन्न भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्