| आइतवार, कार्तिक २२, २०८३

मध्यपहाडी लोकमार्गको ठेकेदार खोज्दै स्थानीयबासी प्रशासन कार्यालयमा


गोरखाका स्थानीयबासी मध्यपहाडी लोकमार्गको काममा चरम लापरवाही गर्ने ठेकेदारको बिरोधमा उत्रिएका छन् । पालुङटार नगरपालिकाको ठाँटीपोखरीदेखि मसानेठाँटीसम्मको खण्ड स्तरोन्नति गर्ने जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको बिरोध गर्दै स्थानीयले मंगलवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।


‘सडक निर्माणको ठेकेदार कहाँ छ’, ‘जनतालाई सास्ती कहिलेसम्म’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित उनीहरु धर्नामा बसेका हुन् । काम अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारलाई कार्यक्षेत्रमा उपस्थित गराइदिन उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । ‘अहिले त्यो सडकमा एम्वुलेन्स चल्न सक्ने अवस्था छैन’, स्थानीय कमल पोखरेलले भने, ‘ठेकेदार काम गर्न आउँदैन, बाटोको अवस्था बिजोग छ । जसरी भएपनि ठेकेदारलाई कार्यक्षेत्रमा बोलाएर काम सुचारु गराउनुप¥यो ।’ बर्खामा बाटोकै कारण कुनै घटना भएमा त्यसको जिम्मेवार ठेकेदार हुने भन्दै उनले आक्रोश व्यक्त गरे ।


उक्त निर्माण कम्पनीले मजदुरको श्रम शोषण समेत गरेको स्थानीयको आरोप छ । काम लगाउने तर ज्याला नदिने गरेको पानपा–४ लुईटेलका स्थानीय कालीप्रसाद सोडारीले बताए । ‘केही दिन काम गर्छन्, ज्याला पाउँदैनन् अनि निराश भएर काम छाडेर जान्छन्, यस्तो धेरै पटक भइसक्यो,’ उनले भने । पूर्व गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले ठेकेदारलाई कारवाही हुनुपर्ने बताएका छन् । तेस्रोपटक म्याद थप हुदाँ समेत काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया अघि बढाउन उनले प्रजिअलाई आग्रह गरेका छन् ।


मसानेठाँटीदेखि छेवेटारसम्मका स्थानीय धर्ना कार्यक्रममा सहभागी थिए । राजनीतिक संरक्षणका कारण ठेकेदारको लापरवाही बढेको उनीहरुको भनाइ छ । समयमै काम नगरे सो सडकखण्डमा सवारी चल्न नदिने उनीहरुले चेतावनी समेत दिएका छन् ।


प्रजिअ दिनेशसागर भुसालले निर्माण कम्पनी, जनप्रतिनिधि, स्थानीय लगायतका सरोकारवाहरुसँग बसेर छलफल गर्ने बताए ।


कुल १३ किलोमिटर उक्त खण्डको काम विगत लामो समयदेखि अलपत्र छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म काम सक्ने जिम्मा लिएको निर्माण कम्पनी अहिलेसम्पर्कमै नभएको स्थानीय बताउँछन् । हालसम्म २५ प्रतिशत मात्र कामको प्रगति रहेको आयोजना कार्यालय ठाटीपोखरीले जनाएको छ ।


अदालतको ‘स्टे अर्डर’ का कारण कारवाही गर्न नसकिएको कार्यालय प्रमुख सुनिल रंजितकारले बताए । ‘काम नगरेपछि हामीले बैक ग्यारेन्टी जफत ग¥यौँ, तर उसले उच्च अदालत पाटनमा निवेदन दिएछ,’ उनले भने, ‘अदालतले स्टे अर्डर दिएको छ त्यसकै कारण अफिसियल रुपमा कारवाही गर्न पाएका छैनौ ।’ कारवाहीका लागि बिभागको कानूनी शाखामा लेखेर पठाएपनि कुनै प्रतिक्रिया नआएको उनले बताए ।


यस बिषयमा जानकारी लिन प्यासिफिक कन्स्ट्रक्सनका ठाकुर कडेँललाई फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
पाँच खण्डमा बिभाजन गरेर जिल्लामा मध्यपहाडी लोकमार्गको काम भइरहेको छ । ठाटीपोखरी–मसानेठाटी बाहेक अन्य खण्डमा भने काम भइरहेको आयोजनाले जनाएको छ । जिल्लाको कुल ६२ किलोमिटर मध्ये हालसम्म २५ किलोमिटर खण्ड कालोपत्रे भइसकेको कार्यालय प्रमुख रंजितकारले बताए ।

प्रतिक्रिया दिनुहोस्