
पोषण सुधारका लागि पालुङटारमा ‘सुत्केरी भान्सा घर’ कार्यक्रम
पालुङटार नगरपालिकाले ‘सुत्केरी भान्सा घर’ कार्यक्रम संचालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रम अन्तरगत महिलालाई सुत्केरी भएको २४ घण्टाभित्र दुईछाक पोसिलो खाना निशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले बताइन् । ‘डेलिभरी भएको २४ घण्टासम्म हामी उहाँहरुलाई स्वास्थ्य संस्थामै राख्छौँ,’ उनले भनिन्, ‘त्यो अवधिमा माछा, मासु र अण्डासहितको दुई छाक खाना दिन्छौँ ।’ स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै पोषण सुधारका लागि उक्त कार्यक्रम लागू गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रमका लागि चालु आर्थिक बर्ष दुई लाख रकम विनियोजन गरिएको नगरपालिका मेयर विवश चिन्तनले बताए । मातृशिशु मृत्यु दर कम गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ । ‘सुत्केरी हुने वित्तिकै घर लान आतुर गर्छन्, सुत्केरी भएको २४ घण्टासम्म आमा र बच्चा दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्दा स्वास्थ्य समस्यामा पनि कमी आउने भयो, फेरि दुईछाक पोसिलो खाना दिएपछि पोषणमा पनि केही सुधार हुन्छ भन्ने अपेक्षा हो,’ उनले भने ।
कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर समेत बढेको बताइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई पालिकाले जनही तीन हजार थप रकम समेत उपलब्ध गराउदै आएको छ ।




