
बुढीगण्डकी आयोजना वरिपरि रिङरोडको काम यस बर्ष
दरौँदी ः बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना वरिपरि रिङरोड बन्ने भएको छ । करिब तीनसय किलोमिटर रिङरोडका लागि यसबर्ष १४ करोड रुपियाँ प्राप्त भएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । ‘रिङरोडका लागि यसबर्ष १४ करोड रुपियाँ प्राप्त भएको छ’, कार्कीले भने, ‘त्यसले यो बर्ष टेण्डर गरेर काम अघि बढाउछौं ।’ रिङरोडको डिपिआर भइसकेको उनले बताए । ‘५४ बर्गकिलोमिटर फराकिलो जलाशय वरिपरि १५ मिटर फराकिलो करिब तीनसय किलोमिटर लामो रिङरोड बन्नेछ’, इकाइ प्रमुख कार्कीले भने, ‘रिङरोड बन्न थालेपछि यस आसपास बुढीगण्डकी भिलेज बन्ने क्रम अघि बढ्ने हामीले अपेक्षा गरेका छौं ।’ अहिले डुबान क्षेत्रको जग्गाको मुआव्जा वितरण को काम भइरहेको छ ।
बुढीगण्डकी आयोजनाको जलाशय का कारण समुद्री सतहदेखि ५४० मिटर उचाइसम्मको भूभाग डुबानमा पर्नेछ । त्योभन्दा पाँचमिटर माथिसम्मको क्षेत्रलाई ‘रिस्कजोन’ मानिने इकाइ प्रमुख कार्कीले बताए । सो क्षेत्रभन्दा माथि मात्रै रिङरोड र बस्ती निर्माण गरिने उनको भनाइ छ ।
डुबानका कारण तीनहजार पाँचसय ६० घरधुरी बिस्थापित हुने आयोजनाको डिपिआरमा उल्लेख छ । बिस्थापितहरुलाई पुनस्थापित गर्न निर्माण हुने ‘बुढीगण्डकी भिलेज’का लागि ४४ ठाउँमा सम्भाव्यता अध्ययन गरि रहेको आयोजनाले जनाएको छ । आयोजनाबाट डुबानमा पर्नेहरुलाई मुआव्जाबापत अहिलेसम्म साँढे १५ अर्ब रुपियाँ वितरण भइसकेको इकाइ कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष मुआव्जा वितरण गर्नका लागि २७ अर्ब रुपियाँ प्राप्त भएको छ । ‘यसबर्ष मुआव्जा वितरणको काम सक्ने हाम्रो लक्ष्य हो’, कार्की भन्छन्, ‘अर्को बर्ष घरगोठ, रुख, बिरुवा,फलफूलको मुआव्जा दिने छौं ।’ मुआव्जा वितरण सकेपछि आयोजनाको निर्माण कार्य सुरु हुने उनले बताए ।
मुआव्जाका लागि ६० अर्ब रुपियाँ खर्च हुने अनुमान सरकारको छ । जसमध्य डुबानमा पर्ने जग्गाको ३३ अर्ब र बाँकी घरगोठ, फलफूल, रुखविरुवाको मुआव्जामा खर्च हुने अनुमान छ । बाँकी रकम बिस्थापितहरुलाई पुनस्थापना गर्नमा खर्च हुने कार्कीले बताए ।




