
अपर रिचेत खोला जलविद्युत आयोजनाले कामदारको ज्याला दिएन
दुर्गम क्षेत्रमा विकासका आयोजनाहरु सञ्चालन हुन्छन् । आयोजनामा श्रमिकका लागि काम खुल्छ । परिबारको भोकको राँको निभाउने उद्देश्य बोकेर स्थानीय विपन्न समुदाय त्यहाँ श्रम गर्न तँछाडमछाड गर्छन् । तर ठेकेदार श्रमिकको ज्याला नदिई भाग्छन् ।
उपभोक्ता समितिले गरेका काममा थोरै ज्याला तोकिए पनि ज्याला दिन्छन् तर ठेकेदारले गरेका काममा श्रमिक ठगिने गरेका छन् ।
‘पुस, माघको जाडोमा पानीभित्र पसेर बालुवा बटुल्न कति गाह्रो होला कल्पना गर्नुस् त ?’ धार्चे ६ यार्साकी बिमा घले भन्छिन्, ‘काम पाइयो, दुईचार पैसा कमाएर परिबार पाल्न पाइन्छ भनेर पुस र माघ महिनामा पानीभित्र परेर ४९ घनमिटर बालुवा उठायौँ ।
ठ्याक्कै दुई बर्ष बित्यो अहिलेसम्म एक पैसा पनि दिएको छैन ।’ ठेकेदारबाट ७० हजार रुपैयाँ पाउन बाँकी रहेको उनको गुनासो छ । स्थानीय झञ्झवीर घलेको पीडा यो भन्दा कम छैन । उनी अल्पदृष्टिका बिरामी हुन् । ‘म आँखा नदेख्ने मान्छे, हात र खुट्टाले छामछामछुमछुम गर्दै खोलामा गएर बटुलेको बालुवा हो ।
बालुवा र माटो पनि नचिन्ने मान्छेले पानीभित्र डुबेर बालुवा झिकेर बेचेको हो तर पैसा दिएन’, घले भन्छन्, ‘ठेकेदारले बालुवा राम्रो भएन भनेर दुईफेर धुन लगाउँथ्यो । त्यति गरेर पनि मैले १६ गाडी बालुवा बेचेको हो । तर पैसा एक सुका पनि दिएन ।’ प्रतिटिूप चारहजार रुपैयाँका दरले ६४ हजार रुपैयाँ पाउनु पर्ने उनको दाबी छ ।
महिला र पुरुष सराबरी भएर पानीभित्र डुबेर संकलन गरेको बालुवाको पैसा नपाउँदा मनमाया घलेको मन पनि रोएको छ । पैसा नपाउने अरु गाउँलेसित मिलेर उनी पनि तीनफेरसम्म आयोजनास्थल रिचेतखोला गइन् । ‘पैसा माग्न गयो भने यो महिनामा दिन्छु, अर्को महिनामा दिन्छु भन्दै टार्छ’, उनी भन्छिन्, ‘रुदै हिँड्न नि सकिएन, हाँसेर बस्न नि सकिएन । नकराए पनि नहुने, धेरै करायो भने के गर्न सक्छेस गर भन्छ ।
पैसा आएपछि मै फोन गरेर बोलाउँछु, नकराई बस भन्छ ।’ आफूजस्ता ५० जनाभन्दा धेरै श्रमिकले ज्याला नपाएको उनको भनाइ छ ।
आयोजनासित ठेक्का लिएको यूरो कन्स्टूक्शनले उनीहरुलाई काम लगाएको हो । कन्स्टूक्शनसित बालुवाको जिम्मा लिएको गाउँकै खम्बा घलेले उनीहरुलाई काम लगाएको आयोजनाका साइट मेनेजर भगवान खत्रीको भनाइ छ । जिम्मा लिएको काम पूरा नगरी यूरो कन्स्टूक्शन भागेपछि श्रमिकजस्तै आयोजना पनि अप्ठ्यारोमा परेको उनको भनाइ छ । ‘यूरो कन्स्टूक्शन काम अधकल्चो बनाएर हिँड्यो ।
बाँकी काम आयोजनाले नै गरिरहेको छ’, प्रवद्र्धकमध्यका एकसमेत रहेका खत्री भन्छन्, ‘कुन कुन क्षेत्रमा कतिजना कामदारले काम गरे, कसलाई कति भुक्तानी भयो, कसलाई कति बाँकी छ हामीलाई केही थाहा छैन । सबै हरहिसाब, बिल भरपाइ माग्दा कम्पनीले दिँदैन हामीलाई अप्ठ्यारो परेको छ ।
गाउँलेको श्रम शोषण गर्ने नियत आयोजनाको नभएपनि प्राविधिक कठिनाइका कारण भुक्तानी दिन नसकिएको उनको भनाइ छ ।
दुई मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ अमूल्य इन्फास्टक्चर कम्पनीले आर्थिक बर्ष २०७७÷०७८ सालदेखि यहाँ अपर रिचेतखोला जलविद्युत आयोजनाको काम सञ्चालन गरिरहेको छ ।




