| मङ्लबार, कार्तिक २४, २०८३

लक्जम्वर्गका मन्त्रीले गरे गोरखा भ्रमण

लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेका छन् । बुधबार दिउसो १ वजे हेलिकोप्टरबाट गोरखा आएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी लिएर फर्केका हुन् ।

लक्जम्बर्गले गोरखा भूकम्पपछि पाँचवर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो । गोरखा अस्पतालको अवलोकन पछि मन्त्री फ्राञ्जले गोरखा नगरपालिका वडा नं ७ हिलेपोखरीका एक जना सफल किसान दाउरी सार्कीसंग भेटवार्ता गरेका थिए । लक्जम्बर्ग सरकारको परियोजनाअन्तरगत बंगुर पालन गरेकी उनीसंग मन्त्री फ्रान्जले भेटवार्ता गरेका हुन् । अपांग रहेका उनका छोरा अभिषेक कोइरालाको पठनपाठनमा मद्दत पुगोस भन्ने उद्देश्यले परियोजनाले २ वटा सुँगुर पालनमा सहयोग गरेको थियो ।

हाल उनको २८ वटा सुँगुर देखेर मन्त्री फ्राञ्जले खुशी व्यक्त गरेका थिए ।
साथै उनले गोरखा नगरपालिका वडा नं ८ का अर्का पूर्ण अपांग लाभग्राहीका परिबारसंग भेटवार्ता गरेका थिए । जीविकोपार्जन सहयोग कार्यक्रमअन्तरगत बाख्रापालनमा सहयोग गरेको लाभग्राही सिमोन बस्नेतको परिबारसंग मन्त्रीले भेटवार्ता गरेका हुन् ।

करिव तीन घण्टा गोरखामा बिताएका मन्त्री फ्राञ्जलाई गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा अस्पतालको व्यवस्थापन समिति र एकीकरण नेपाल गोरखाले स्वागत गरेको थियो ।

मन्त्री फ्रान्जले परियोजनाको दिगोपनाका बारेमा जिज्ञासा राखेका थिए । भ्रमण टोलीमा नेपालका लागि लक्जम्बर्गका राजदूत पेग्गी फ्रान्टजेन, विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज, विकास सहयोग तथा मानवीय सहायता नागरिक समाज र गैरसरकारी संयोजक सिल्भी दस सन्तोस, निजी अंगरक्षक, ह्याण्डीक्याप लक्जम्वर्गका निर्देशक म्हेदीमग्हर, नेपालका निर्देशक पाउलिन नादिम डुकोसलगायत उच्चअधिकारीहरुको संग्लनता रहेको थियो । लक्जेम्बर्ग ह्याण्डीक्याप इन्टरनेश्नल तथा एकीकरण नेपालसंगको सहकार्यमा गोरखामा समावेशी शिक्षा, समावेशी जीविकोपार्जन र फिजियोथेरापी तथा पुनस्र्थापना कार्यक्रम संचालन गरेको थियो ।

सन् २०१७ बाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ । आफूले सञ्चालन गरेको सहयोग फलदायी बनेको, नबनेको बारे अध्ययन गर्न पोस्ट प्रोजेक्ट मनिटरिङ कार्यक्रम अन्तर्गत मन्त्रीको टोली अनुगमनमा आएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्