| शनिबार, अशोज १६, २०८३

वडाध्यक्षद्वारा भत्ताबापतको रकमबाट विद्यार्थीलाई सहयोग

आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले वडाअध्यक्ष भएबापत आफुले पाएको भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । उनले बिगत एकबर्षदेखि हालसम्म प्राप्त गरेको भत्ताबाट वडाभित्र रहेका पाँच वटा विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई शैक्षिक सामग्री खरिद गरी वितरण गरेका छन् ।

जनप्रतिनिधि सरकारबाट भत्ता लिनका लागि हो भन्ने मानसिकता हटाउन र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष धमलाले बताए ।

उनले आफनो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले आइतबार शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । उनका अनुसार मनासुलु आधारभूत विद्यालयमाका २० जना, भवानी प्राविका १८ जना, गणेश माबिका २१९ जना र जामुने प्राविका ४९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
गण्डकी मावि आर्खेतमा भने वितरण गर्न बाँकी रहेको र मंगलबार वितरण गरिने उनले बताए । विद्यालयमा भएका सबै विद्यार्थीलाई कापी कलम वितरण गरिएको उनले बताए । सबै गरेर करिब दुई लाख भन्दा बढीको शैक्षिक सामग्री वितरण गरिएको उनको भनाइ छ ।

‘अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको अवस्थामा त्यसभित्र धेरै समस्या छ’, उनले भने, ‘त्यसैले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षण गर्न धेरै नसके पनि थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री खरिद गरेर वितरण गरेको हुँ ।’ नेपाल सरकारले किताब दिने, वडा अध्यक्षले कापी दिने र अन्य खाजा लगायतका व्यवस्था पालिकाले दिने गर्दा सामुदायिक विद्यालय विद्यार्थीहरु राम्रोसँग पढ्ने वातावरण बन्ने उनको भनाइ छ ।

आगामी पाँच वर्षसम्म जनप्रतिनि भएर सरकारले दिएको भत्ता यसरी नै सामाजिक कार्यमा खर्चिने उनले बताए । ‘आफु जिउनका लागि छुट्टै व्यवसाय संचालन गरेको छु । घरखर्च त्यसबाट नै चल्छ, त्यसमा व्याकअप सपोर्ट म गरिहाल्छु’, उनले भने । आफुले सानातिना व्यवसायी गर्दै आएको बताउदै घरखर्च त्यहि व्यवसायबाट चलेको र सरकारले दिने भत्ता सामाजिक कार्यमा खर्च गर्ने उनले बताए ।

उनले यस अघि पनि वडाका असाहय, खाद्यान्न संकट परेको व्यक्तिहरुलाई खाद्यवस्तु खरिद गरेर दिएका थिए । यसरी सहयोग गर्दा आत्मासतुष्टि मिल्ने गरेको उनले बताए । सबैसँगको छलफल, समन्वयबाट वडाभित्र जहाँ आवश्यक पर्छ, त्यहाँ सहयोग गर्दे जाने अध्यक्ष धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्