| आइतवार, कार्तिक २२, २०८३

पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नभए आन्दोलन गर्ने पेट्रोलियम डिलर्स एशोसिएशनको निर्णय

पेट्रोलियम पदार्थको देशभरिको मूल्यमा एकरुप कायम गर्न सरकारलाई अनुरोध गर्ने र नभए आन्दोलन गर्र्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले निर्णय गरेको छ ।

शनिबार र आइतबार गोरखामा आयोजित साधारणसभाले यस्तो निर्णय गरेको हो । अहिले नेपाल आयल निगमले काठमाडौंको डिपोलाई केन्द्र मानी पन्द्र किलोमिटर टाढाका पम्पहरुमा ढुवानी भाडा जोडेर बेच्ने गरेको छ । जसले गर्दा पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता छैन ।

‘पेट्रोलियम पदार्थको मूल्य देशभर एकरुपता कायम गर्नुपर्छ भनेर हामीले एकबर्षदेखि आयल निगमसँग माग गर्दै आएका थियौँ’, एशोसिएशनका सचिव विश्व अर्यालले भने, ‘महाप्रवन्धकज्यूले सँधै माग सम्बोधन गर्ने आश्वासन मात्र दिने, कार्यान्वयन नगर्ने गर्नुभयो । त्यसैले एशोसिएशनले यस्तो निर्णय गर्नुपर्ने अबस्था आयो ।’ अमलेखगञ्ज डिपो, काठमाडौँ डिपो, पोखरा डिपोहरुमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर रु १७५, डिजेलको मूल्य प्रतिलिटर रु १६५ छ । तर गोरखा, लम्जुङ, तनहूँसम्म आइपुग्दा रु २.४६ जोडेर बेच्ने गरिएको उनले बताए ।

‘हाम्रो माग एक महिनाभित्र सम्बोधन नभएकाको खण्डमा आन्दोलन गर्ने निर्णय भएको ट’, एशोसिएसनका सचिव विश्व अर्यालले भने, ‘एशोसिएशनको वार्षिक साधारण सभाले गरेको निर्णयअनुसार नेपाल आयल निगमसँग आवद्ध व्यवसायीहरु मिलेर माग सम्बोधन गर्न मन्त्री समक्ष मागपत्र पेश गर्ने छौँ ।’

४४ औँ साधारण सभामा एशोसिएशनका सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । पुर्वी गण्डक पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन(गोरखा÷लमजुङ÷तनहुँ) को आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आयोजक तथा पुर्वी गण्डक पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष सितलकाजी मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल एकीकरणको उद्गम स्थल गोरखा पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सम्भावना भएको क्षेत्र भएकाले कार्यक्रमका सहभागीहरुलाई मास्केले गोरखाका धार्मिक र पर्यटकीय स्थलका अवलोकन गरिदिने समेत आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले नेपाल भइरहेको राजनीतिक अस्थिरता र भर्खर तीन तहको निर्वाचन सम्पन्न भएकाले आफनो कार्यकालयमा सोचे अनुरुप काम गर्न नसकिएको बताए ।

एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा नेपाल आयम निगमका कार्यकारी निर्देशक उमेश थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नेपाल आयल निगम अमलेखगंजका निर्देशक एवं प्रमुख विनितमणि उपाध्यक्ष, पूर्व स्वास्थ्य राज्य मन्त्री हिरा केसी, पूर्व आपूर्ति मन्त्री कन्चनचन्द्र बादे, नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोजकुमार दास, नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीक, माछापुच्छे बैक लिमिटेडका सिइओ टिका भट्टराई, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, देशभरिका पेट्रोलियम पदार्थ कारोबारमा आबद्ध व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, जनप्रतिनिधि लगायको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्