
व्याजको स्याजले हामी गरिबको ढाड भाँचियो : मिटर व्याज पिडित
गोरखा नगरपालिका ६ ढाँडगाउँका सन्तमाया र जुठे बिक दम्पतिले भुइँचालो गएको साल गोरखा बजारका हरिबाबु श्रेष्ठ र पूर्णकुमार श्रेष्ठसित तीन, तीन लाख रुपैयाँ सापट लिए । एकजना साहुसित च्याङ्लीस्थित ससुरालीको १३ रोपनी जग्गाको लालपूर्जा र अर्का साहुसित ढाँडकै घरजग्गा जमानत राखी ऋण लिएका थिए ।
मिटर व्याजमा लिएको तीनलाखको सावाँ, व्याज गरेर अहिले १३ लाख पुगेको छ । साहुले कि पैसा तिर्न, कि जग्गा पास गरिदिन कचकच गर्न थालेपछि अचेल ससुराली खलकसंग जुठे दम्पतिको भनाबैरी भएको छ ।
‘तीनलाख भनेको मात्रै हो, सयकडा तीनका दरले छ महिनाको व्याज त पहिल्यै कटाएर दिएका थिए । त्यति पनि आधा ससुरालीलाई आधा हामीले लिएका थियौँ’, जुठे भन्छन्, ‘अहिले दुइटा साहुको गरेर २४, २५ लाख रिन पुग्यो । साहुले कि रिन तिर्, कि जग्गा छोड् भनेर कराउँछन् । ससुराली खलकसित पनि मनमुटाब भइसक्यो ।’
सोही गाउँका ४५ बर्षीय काले बिकलाई अचेल घरजग्गा वैँकले लिलाम गरिदिने हो कि, साहुले लिलाम गरिदिने हो भन्ने पिरलोमा छन् । ‘साहुले दृष्टिबन्धक राखेको जग्गा १० बर्षसम्म फुकुवा गर्न सकिएन भने स्वतः लिलाम हुन्छ रे हो ?’, उनी सोध्छन्, ‘भुकम्प जानुभन्दा आठ महिनाअघि पाँच आना जग्गाको लालपूर्जा दृष्टिबन्धक राखी दिपेश साहुसित सयकडा तीनको दरले दुईलाख रिन लिएको थिएँ । चलेको भाउमा अलिअलि थपेर त्यही घरजग्गा लिइदिए त हुन्थ्यो । तर कत्तिपनि नथपिकन लिने दाउ गर्दैछ ।’ ३६ प्रतिशत ब्याजदर कबुलेर सीताराम सुनार(दिपेश)संग दुईलाख रुपैयाँ लिएको उनले बताए । ‘व्याज पनि सावाँमा जोडेर अहिले तिर्नै नसक्ने भइयो’, उनले भने ।
सोही गाउँका चन्द्रवीर बिकले पनि सीताराम सुनार(दिपेश)संग २०७१ सालको भदौमा दुईलाख रुपैयाँ सापटी लिएका थिए । ‘सयकडा तीनका दरले व्याज तिर्नेगरी दुईलाख रुपैयाँ सापटी मागेको थिएँ । साहु मिलाइदिने एउटा दलालले १० हजार, अर्को दलालले पच्चीसय रुपैयाँ खाइदियो । मेरो हातमा त जम्मा एकलाख ८७ हजार पाँचसय परेको हो’, बिक भन्छन्, ‘व्याजको स्याज गर्दागर्दै अहिले साहुले ११ लाख पुग्यो भनेको छ । लालपूर्जा उसले राखेको छ । लालपूर्जा वैँकमा राखेर तिम्रो रिन तिर्छु भन्दा पनि लालपूर्जा दिन आनाकानी गरेर टार्दै आएका छन् ।’ सुहाउँदो व्याजदर कायम गर्न सके ऋण तिरिदिने उनको भनाइ छ ।
२०७१ सालको कात्तिकमा उनै दिपेशसंग पाँचलाख रुपैयाँ ऋण लिएकी स्थानीय इश्वरी बिकलाई पनि साहुले २० लाख पुग्यो, चाँडै चुक्ता गर्न भनेको छ ।
सोही गाउँका रेशम विकले लालपूर्जा बन्धकी राखेर हरिसाहुसित सातलाख रुपैयाँ ऋण लिएका थिए । साहुले उनको जग्गा कृषि विकास वैँकमा धितो राखेर २२ लाख रुपैयाँ ऋण झिकिदिए । त्यसबाट १७ लाख रुपैयाँ साहुले लिए । ‘अहिले २२ लाख रुपैयाँको मासिक २३ हजार छसय रुपैयाँका दरले १५ बर्षसम्म किस्ता तिरिरहनु परेको छ’, उनले भने ।
२०७४ सालमा घरको लालपूर्जा बन्धक राखेर दिपेश साहुसित २३ लाख रुपैयाँ लिएकी गोरखा नगरपालिका ८ की कुमारी र लोकबहादुर गुरुङ दम्पतिलाई घर छाड्ने चेतावनी आउन थालेको छ । ‘छ बर्ष नपुग्दै कहिले ४० लाख पुग्यो भन्छ, कहिले ५० लाख पुग्यो भन्छ’, लोकबहादुर भन्छन्, ‘सँधै घर बेचेर रिन तिर् भनेर घर हेर्ने नयाँ–नयाँ मान्छे ल्याएर तनाब दिइरहेको छ ।’ वैशाख लागेपछि घर खालि गर् भनेर चेतावनी दिने गरेको उनको भनाइ छ ।
२०७४ साल कात्तिक १९ गते गोरखा बजारका हरिसाहुसित जग्गाको लालपूर्जा धितो राखी एकलाख रुपैयाँ लिएका हरिबहादुर रोकाको ऋण दुईबर्षपछि व्याजसहित जोडेर एकलाख ६० हजार पुग्यो । साहुले त्यसमा एकलाख ४० हजार फेरि थपेर तीनलाख पु¥याइदिए । ‘साँवा व्याज जोडेर पाँचबर्षमा छ लाख ८७ हजार पुगेको छ’, उनकी छोरी पूजा रोका भन्छिन्, ‘वैँकले झै मनासिब ब्याज जोडेको भए, व्याजको स्याज नलिएको भए तिर्न समस्या हुने थिएन । ब्याजको स्याजले हामी गरिबको ढाड भाँचिएको छ ।’
नौ बर्षअघि दिपेशसाहुसित पाँचलाख रुपैयाँ सापटी लिएकी ढाँड गाउँकै इश्वरी विकको थाप्लोमा अहिले २० लाख रुपैयाँ ऋण पुगेको छ । ३६ प्रतिशत व्याज र त्यसलाई पनि साँवामा जोडेर फेरि त्यसको पनि व्याज जोड्दै गएपछि तिर्न मुस्किल परेको यहाँका दलित समुदायको गुनासो छ ।
‘साहुसित राम्रो मुखले लिएको रिन तिर्न आनाकानी गरेको भनेर नबुझिदिनु होला’, चन्द्रवीर बिक भन्छन्, ‘साहु मिलाइदिने दलालाई पनि पैसा दिनुपर्ने, रिन लिँदैमा छ महिनाको अग्रिम व्याज दिनु पर्ने, व्याज पनि ३६ प्रतिशतसम्म तिर्नुपर्ने र व्याजको स्याज लिने चलनले गर्दा हामी गरिबको ढाँड भाँचिएको छ । रिनमा डुबेर हामी तिर्न नसक्ने अबस्थामा पुगेका छौँ ।’
मनासिब व्याजदर र चक्रवर्ती व्याजको पद्धति हटाइदिए आफूहरु ऋण तिर्न तयार रहेको उनीहरुको भनाइ छ ।




