
आवास मर्मत खर्चबापत रकम पनि विपतमा परेकाको सेवामा खर्च गरेको सांसद बजगाईँको दाबी
काठमाडौँमा घर हुने संघीय सांसदले घर मर्मत खर्चबापत पाउने रकम आफ्नो निर्वाचन क्षेत्रमा विपतमा परेकालाई सेवा गर्न खर्च गर्ने गोरखाका सांसद राजेन्द्र बजगाईँले जनाएका छन् । सरकारले दिने सो शीर्षकको नौ हजार रुपैयाँ गोरखा १ का दूर दराजमा प्राकृतिक तथा मानव निर्मित विपतमा परेकालाई सेवा गर्न प्रयोग गर्ने उनले जनाएका हुन् ।
संसद सचिवालयबाट उपलब्ध गराउदै आएको सम्पूर्ण पारिश्रमिक, भत्ता तथा आवास मर्मत सुविधा विपतमा परेकालाई सेवा गर्न प्रयोग गर्ने भनेर संघीय सांसदको सपथ ग्रहणलगत्तै घोषणा गरिसकेको स्मरण गराउँदै उनले सो नौ हजार रुपैयाँ पनि आफूले नलिने दाबी गरेका हुन् ।
आइतबार विभिन्न सञ्चार माध्यममा राजधानीमा घर हुने सांसदले आवास मर्मत खर्च बापत मासिक नौ हजार रुपैयाँ बुझ्ने गरेको बिषयमा समाचार प्रकाशन भएकोतर्फ ध्यानाकर्षण भएको भन्दै सांसद बजगाईँले सो रकम आफ्नो खातामा आएपनि त्यसलाई विपतमा परेकाहरुलाई उद्धार गर्न खर्च गर्ने गरेको बताएका हुन् ।




