
प्रधानमन्त्री दाहाल शुक्रवार गोरखा आउँदै
गोरखा अस्पतालको स्वर्णजयन्तीमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा आउने भएका छन् ।
चैत्र २४ गते दिउँसो एक बजे स्वर्ण जयन्ती उद्घाटन कार्यक्रम रहेको गोरखा अस्पताले जनाएको छ ।
स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा चैत्र २३ गते गोरखा अस्पताल सरसफाई कार्यक्रम राखिएको गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । त्यस्तै, २४ गते विहान आठ बजे देखि १० बजे सम्म रक्तदान कार्यक्रम राखिएको छ । गोरखा अस्पतालले पहिलो पटक संचालनमा ल्याउन लागेको आइसीयुको सोही अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आवश्यक नर्स, डाक्टर व्यवस्था गरी आइसीयु सेवा संचालनमा ल्याउन लागिएको उनले बताए । श्यावप्रश्वासमा समस्या भएका, कोमामा गएका विरामी, रोगले च्यापेका विरामीको उपचारका लागि आइसीयु सेवा संचालनमा ल्याउन लागिएको उनले बताए ।
सोही क्रममा स्वर्णजयन्तीको स्तम्भ अनावरण गर्ने र स्वर्ण स्मारिका लोर्कापर्ण गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा भुतपूर्व प्रमुखहरु लगायतका केही कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रमपनि रहेको उनले बताए ।
गोरखा अस्पताल २०२९ साल चैत्र महिनामा स्थापना भएको थियो । २०७९ चैत्र २४ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्णजयन्ती मनाउन लागिएको हो । जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको गोरखा अस्पतालको नयाँ भवनबाट २०७८ चैत्र १ गतेबाट सेवा सुरु गरेको हो ।
गोरखा अस्पतालमा डायललिस, एच्डीयु, थेरापी, स्त्री रोग, हाडजोर्नी रोग, सुरक्षित गर्भपतन, पाठेघर खसेका लगायतका लगायतका सेवाहरु उपलब्ध हुँदै आएको छ ।




