| आइतवार, कार्तिक २२, २०८३

लघुवित्तीय संस्थाहरुको विरुद्ध गोरखामा धर्ना

गाोरखाका लघुवित्तीय संस्थाहरुको ज्यादती गरेको भन्दै आन्दोलन सुरु भएको छ । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपाल, गोरखामा आवद्ध लघुवित्त पिडितहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखा परिसरमा प्लेकार्ड सहित दिनभर धर्ना दिए ।

यसअघि पनि विभिन्न चरणमा लघुवित्तको बिरोधमा उनीहरुले आन्दोलनका कार्यक्रम गरेका थिए । लघुवित्त पिडितहरुको माग पुरा नभए सम्म मंगलबारबाट हरेक दिन प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम जारी राख्ने संघर्ष समिति गोरखाका अध्यक्ष सुशीला गुरुङले बताइन् ।

लघुवित्तहरुले सेवासुविधा केहि नदिने उल्टै धेरै प्रतिशत व्याजमा ऋणमाथि व्याज थमाइदिने गरेकाले आफुले लघुवित्त विरुद्ध आन्दोलन गर्न बाध्य भएको उनले बताइन् ।

हरेक दिन विहान १० बजे देखि बेलुका ५ बजे सम्म धर्ना कार्यक्रम जारी रहने बताउदै उनले भनिन, ‘लघुवित्तको ज्यादती विरुद्ध दिदीबहिनीहरु मर्न तयार हुनुहुन्छ, तर किस्ता तिर्न तयार छैन ।’ व्याजदर घटाएर नहुने बताउदै लघुवित्त संस्थाहरुको खारेज हुनुपर्ने उनले बताइन् ।

अहिले समितिमा ३ सय भन्दा बढी सदस्य रहेको बताउदै लघुवित्तको खारेज र गरिब विपन्न वर्गको ऋण मिनाह गर्न आन्दोलन निरन्तर जारी रहने उनले जानकारी दिइन् ।

धर्ना कार्यक्रममा सहभागिहरुले लघुवित्तीय संस्थाद्वारा लगाइएको सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर, समाजवादी अर्थतन्त्रको विकास गर, लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्