
गोरखामा एक सय १५ जनालाई क्षयरोग संक्रमण
गोरखा विगत आठ महिनामा एक सय १५ जनामा क्षयरोग(टिबि) रोग संक्रमण भेटिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४४ जना महिला र ७१ जना पुरुष गरी कुल एक सय १५ जनामा क्षयरोग संक्रमण देखिएको हो ।
उनीहरु मध्य २१ जना महिला र ४५ जना पुरुषलाई पिबिसी, १३ जना महिला र १० जना पुरुषलाई पिसिडी र १० जना महिला र १६ जना पुरुषलाई इपि नामक क्षयरोग संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
गोरखामा सबै भन्दा धेरै क्षयरोग संक्रमण गोरखा नगरपालिकामा देखिएको छ । गोरखा नगरपालिकामा १७ जनामा क्षयरोग संक्रमण देखिएको अर्यालले जानकारी दिए । आरुघाट गाउँपालिकामा १५ जनामा, बारपाकसुलिकोट गाउँपालिकामा १४ जनामा, पालुङटार नगरपालिकामा १३ जनामा र सहिदलखन गाउँपालिकामा १२ जनामा क्षयरोग संक्रमण देखिएको छ । त्यस्तै, धार्चे गाउँपालिकामा १० जनामा, गण्डकी गाउँपालिकामा ९ जनामा, भिमसेन थापा र अजिरकोट गाउँपालिकाका ८÷८ जनामा, सिरानचोक गाउँपालिकामा ५ जनामा र चुमनुब्री गाउँपालिकामा ४ जनामा क्षयरोग संक्रमण देखिएको अर्यालले जानकारी दिए ।
उमेर समूह हेदा १४ वर्ष मुनिका बालबालिकाहरुमा ३.९ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहमा ७४ प्रतिशत र ६५ वर्ष देखि माथिका २१.५ प्रतिशतमा क्षयरोग संक्रमण देखिएको कार्यालयले जनाएको छ । स्वास्थ्य परिक्षणको क्रममा ६३.३१ प्रतिशत महिला र ३६.६९ प्रतिशत पुरुषलाई क्षयरोग संक्रमण भेटिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गोरखामा साउन यता आठ महिनाको अवधिमा गोरखाका १ सय १५ जना गरी गण्डकी प्रदेशका १२ सय ५६ जनामा क्षयरोग देखिएको हो । स्वास्थ्य कार्यालय गोरखाले चालु वर्ष ५ सय ५० जना क्षयरोग संक्रमण विरामी पत्ता लगाउने लक्ष्य लिएको हाल सम्म एक सय १५ जना संक्रमित भेटिएको छ ।
यस्तै जिल्लामा अघिल्लो आर्थिक वर्षमा क्षयरोग संक्रमण भएका मध्ये ९०.४ प्रतिशत विरामीको सफल उपचार गरेको महामारी फोकल पर्सन अर्यालले जानकारी दिए ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे÷नलागेको थाहा पाउन सकिन्छ ।
सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ ।
अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ । क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।




