| आइतवार, कार्तिक २२, २०८३

मस्र्याङ्दी दोहन, घाटगड्डी नै छैन

मस्र्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको बिषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधवार सो क्षेत्रको अनुगमन गरेको छ । अनुगमनपछि समितिले न्यूनत्तम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन गरेको निश्कर्ष निकालेको छ ।

‘शाहघाटमा अहिलेसम्म कति उत्खनन गरे, संकलन कति भयो, घाटगड्डी कहाँ हो भन्ने नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले भने, ‘कहाँबाट झिक्ने भन्ने सिमाङ्कन गरिएको पनि छैन । सुचना पाटी राखिएको छैन । नदीको बहाव नै परिर्वतन हुने गरी उत्खनन गरिएको पाइयो ।’

गोरखा नगरपालिका १४ को शाहघाटमा अनुगमन टोली पुग्दा दुई वटा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन र चार/पाँच वटा टिपरले निर्माण सामग्री संकलन गरिरहेको थियो । नौदिनदेखि यो काम चलिरहेको एक्साभेटर चालकले बताएका थिए । गोरखाको घाटबाट उत्खनन् भएको ढुङ्गा गिटी, बालुवा तनहुँतर्फ लगेर स्टोर गरिएको थियो । निर्माण कम्पनीले अनुगमन समितिलाई भने घाटगड्डी नै नभएको र बुधवारबाट मात्रै संकलन सुरु गरेको भन्दै ढाँटेको थियो ।

नारीम घाट, भैँसेटार लगायत ठाउँमा पनि मापदण्ड पूरा नगरी उत्खनन भईरहेकोे देखिएको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए । यी घाटमा गोरखा नगरपालिकाले ठेक्का लगाएको हो ।

एकलाख ४३ हजार ४६ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी शाहघाटको जिम्मा सुजन छिम्केश्वरी निर्माण सेवाले लिएको छ । उक्त कम्पनीले संकलन गरेको नदीजन्य सामग्री आँबुखैरेनी–पोखरा सडक खण्डको निर्माण जिम्मा लिएको चाईना कम्यूनिकसेन एण्ड कन्ट्रक्शन कम्पनीलाई बिक्री गरेको छ ।

अनुगमनका क्रममा सम्झौता अनुसारका सर्तहरु निर्माण कम्पनीले पालना नगरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए । ‘अहिलेसम्म कति परिणाममा उत्खनन् भयो, कति बाँकी छ भन्ने बिवरण प्राविधिकलाई पेश गर्न भनेका छौँ’, उनले भने । यो बिवरण आएपछि पुन अनुगमन गरिने बताउँदै उनले तीनवटै घाटको जिम्मा लिएका निर्माण कम्पनीलाई सम्झौता अनुसार मात्रै उत्खनन् गर्न बुधवार पत्र काटिएको बताए ।

नगरपालिकाको प्राविधिक नियमित रुपमा घाटमा नखटिनु, सुरक्षाकर्मी नियमित रुपमा उपस्थित नहँुदा जिम्मा पाएको कम्पनीले मनोमानी गरेको अनुगमन समितिको निश्कर्ष छ । सोहि क्रममा नारीघाट र गोनपा १३ मा रहेको भैंसेटार घाटमा पनि अनुगमन गरिएको थियो । भैसेटार घाटमा पनि धमाधम नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । तर हालसम्म नदीजन्य पदार्थ उत्खननका लागि प्राविधिक तोकिएको चार किल्ला निर्धारण गरिएको छैन भने आयोजना बारेमा सूचना बोर्ड समेत टाँसिएको छैन ।

सो स्थानबाट उत्खनन गरिएको सामग्रीको घाटगड्डी पनि ब्यवस्थित छैन । यो घाटबाट संकलित सामग्रीपनि चाईना कम्यूनिकेशन एण्ड कन्ट्रक्शन कम्पनीलाई बिक्री हुँदै आएको छ । यो कम्पनीले आँबुखैरेनी–पोखरा सडकको खण्ड बिस्तारसहित कालोपत्रेको जिम्मा लिएर काम गरिरहेको छ ।

जिल्ला अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको नेतृत्वमा भएको अनुगमन टोलिमा गोरखा नगरपालिकाका कार्यवाहक नगरप्रमुख विष्णुप्रसाद श्रेष्ठ, अनुगमन समितिका सचिव नानीबाबु पोखरेल, गोरखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, नगरपालिकाका सवइन्जिनियर कपिल कोइराला, वडा नं १४ का प्राविधिक लगायतका स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्