
प्रधानमन्त्री दाहालद्वारा गोरखा २ मा २० किलोमिटर सडक स्तरोन्नतिको सिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा मंगलवार २० किलोमिटर सडक स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका छन् । पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै उनले भने ‘विकास निर्माणको काम गोरखाबाट अब सुरु भयो ।’
निर्वाचनका बेला गोरखा २ का बिभिन्न गाउँमा पुगेर धुले सडक कालोपत्रे गर्ने प्रतिवद्धता गरेका दाहालले प्रधानमन्त्री भएपछि सोही बाचा अनुसार सडक स्तरोन्नति गर्ने कामको सुरुवात भएको बताए । ‘यो शिलान्यास भन्दापनि विकास निर्माणको कामको उद्घाटन भन्दा हुन्छ’, उनले भने । चुनावका बेला गरिएका धेरै बाचा पूरा गर्ने गरी अहिले योजना बनाइरहेको र आफुले विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिईसकेको उनले बताए ।
८१ करोड ६१ लाख ६६ हजार रुपैयाँमा स्तरोन्नति हुन लागेको उक्त सडक खण्डले गोरखादेखि लमजुङ जिल्लालाई जोड्नेछ । सडक स्तरोन्नती अन्तर्गत सो सडकलाई दुई लेन चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रेको काम हुने सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्रकुमार झाले बताए ।
भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगअन्तर्गत स्तरोन्नति हुन लागेको उक्त सडक उड हिल, लामा जेभीले निर्माणको जिम्मा पाएको छ । ३० महिना(२०८२ भदौ)भित्र काम सक्ने गरी निर्माण कम्पनीले २०७९ फागुन १५ गते सम्झौता गरेको थियो । उक्त सडक बनेपछि चार लाख भन्दाबढि जनसंख्या लाभान्बित हुने ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाले जनाएको छ ।
पुजापाठसँगै शिलालेख अनावरण गरेर प्रधानमन्त्री दाहालले पन्थडिही कटहरे हर्मी साहिलटार सडकको शिलान्यास गरेका थिए । ‘सडक मात्रै भएर विकास नहुँदो रहेछ, शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर यहाँ नै सिर्जना गरेर बिदेशीएका जनशक्तिलाई यहाँ अवसर दिलाउने गरी हाम्रो ध्यान केन्द्रित हुनेछ’ प्रधानमन्त्री दाहालले भने । सडकलाई उत्पादनसित जोड्नुपर्ने, आयात कम गर्दै निर्यात बढाउने गरी विकासका योजना अघि बढाउनुपर्ने देशभरीको आवश्यकता रहेको उनले बताए ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्धारित समय भन्दापनि अगाबै गुणस्तरीय काम गरेर सिध्याउन निर्माण ब्यवशायीलाई सुझाब दिए । ‘धेरै पहिलेदेखि जनताले कालोपत्रेको अपेक्षा गरेको सडक हो’, भौतिक पूर्वाधार मन्त्री समेत रहेका उनले भने, ‘प्रधानमन्त्री, आफू, पूर्व प्रधानमन्त्री, सडक विभागका महानिर्देशक तथा निर्माण कम्पनी पनि यही क्षेत्रका भएकाले काम निर्धारित समयमै र गुणस्तरीय हुनेछ भन्ने विश्वास लिएको छु ।’ विकास निर्माणका काम मार्फत सरकारले समृद्धिको प्रक्रियालाई गुणात्मक परिर्वतन ल्याउने उनले बताए ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले २०७७÷७८, ७८÷७९ मा दुईपटक ठेक्का आह्वान गर्दापनि यो सडक खण्डको काम सुरु हुन नसकेको बताए । ‘यो सडकको ट्रयाक खन्ने काम २०६५ मा सुरु भएको हो, यो सडक स्तरोन्नति गर्न अरु सडकलाई भन्दा धेरै मेहनत गरेँको थिएँ’, उनले भने ‘तर के मिलेन ।अहिले कालोपत्रे हुने भएको छ, म धेरै खुशी छु ।’
गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेले यो बेला नबनेको गोरखा अब कहिले बन्ने ? भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत सबै पार्टीका नेताहरु गोरखाको विकास र समृद्धिमा एकजुट हुनुपर्ने बताए । ‘केही योजना ठेकेदारका कारण अलपत्र छन्’, उनले भने ‘ पन्थडिही कटहरे हर्मी साहिलटार सडक जिम्मा लिने पनि गोर्खाली ब्यवशायी हुनुहुन्छ । उहाँ निर्धारित समयभित्रै र गुणस्तरीय काम गर्ने ठेकेदार हुनुहुन्छ । त्यसैले यो काम पनि उहाँले समयभित्रै सक्नुहुनेछ ।’
सडक विभागका महानिर्देशक सुशील ढकालले पन्थडिही कटहरे हर्मी साहिलटार सडक खण्डमा स्थानीयले स्वस्फूर्त जग्गा उपलब्ध गराएको भन्दै धन्यवाद दिए । ‘अन्तर निकायत्मक समन्वयका अभावले केही योजनाहरु समयमै पूरा भएका छैनन’, उनले भने ‘यो सडक उच्च गुणस्तरका साथ समयमै सम्पन्न हुनेमा आशावादी छु ।’ समयभित्रै सम्पन्न गर्नेमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
पालुङटार नगरपालिकाका प्रमुख बिबस चिन्तनले एक दशक अघिदेखि हिलो, धुलोले गिज्याईरहेको यो सडक कालोपत्रे हुनु स्थानीयकालागि खुसीको कुरा भएको बताए । साथै उनले काम छिटो सम्पन्न गर्न स्थानीय सरकारले सहयोग गर्ने बताए ।




