
हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया पनि अव गोरखा अस्पतालमै
धेरै आधुनिक सेवा सुविधा थप गरिरहेको गोरखा अस्पतालमा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु भएको छ । सिआर्म मेसिनको सहायतामा गत सोमबारबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया सुरु भएको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा अस्पतालनमा यहि फागुन २९ गते सोमबार १० वर्षीय एकजना बालक र ३० गते चार जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । उनका अनुसार सोमबार विसौनी मोडमा भएको मिनिट्रकको दुर्घटनामा परी घाइते भएकाहरुको भाँचिएको हड्डीको पनि गोरखा अस्पतालमै सफल अप्रेशन भएको छ ।
गोरखा अस्पतालनमा यसअघि सामान्य खालका हाडजोर्नीको अप्रेशनहरु हुदै आएको थियो । जटिल खालको अप्रेशन गर्नका लागि भरतपुर, काठमाडौ, पोखरा लगायतका ठाउँमा रिफर गर्ने गर्दथ्यो । अहिले सी आर्म मेसिन ल्याएपछि अब हाडजोर्नी सम्बन्धी जटिल अप्रेशन गोरखा अस्पतालमै सुरु भएको ढकालले जानकारी दिए ।
सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि–आर्म मेशिनको सहयोगले हालिन्छ । सामान्य किसिमको शल्यक्रिया सि–आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सि–आर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन् ।
अहिले ल्याएको मेसिनको सहायताले मानिसको शरीर भित्रको हड्डी मिलाएर उपचार गर्न धेरै सहज हुने उनले बताए ।
अहिले अप्रेशनममा हाडजोर्नी विशेषज्ञ डा. सिद्धार्थ खनाल, डा. सन्देश श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट डा एलिसालगायत टिम खटिरहेको उनले बताए ।
यसले जिल्लाबासीलाई यसले धेरै सहज हुने र हाडजोर्नी सम्बन्धी महङ्गो खर्च तिरेर बाहिर उपचार गर्न जानुपर्ने बाध्यता हटेको उनले बताए । अव अन्यन्तै जटिल र जिल्लामै गर्न नसकिने खालका केशहरु मात्र बाहिर पठाइने गोरखा अस्पतालले जनाएको छ ।
योसँगै गोरखामा प्रसुतिको अप्रेशन, हाडजोर्नी, पाठेघर खसेको लगायतका अप्रेशन भइरहेको छ । नवजात शिशुको विशेष उपचार कक्षा संचालनमा रहेको छ । त्यस्तै, डायलसिस र एचडियु सेवा पनि संचालन भइरहेको छ ।
यहि महिनाबाट आइसियु संचालन गर्ने तयारीमा रहेको र ल्याबहरु पनि थप गर्ने तयारी भइरहेको गोरखा अस्पतालले जनाएको छ ।




