| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा पोसिलो खाना कार्यक्रम लागु, सबै स्वास्थ्य चौकीमा निवेदन संकलन हुदै

गोरखामा पोसिलो खाना कार्यक्रम लागु भएको छ । आर्थिक वर्ष २०७९÷०८० को साउन देखि पोसिलो खाना कार्यक्रम लागु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमाका लागि पोसिलो खाना कार्यक्रम लागु भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले बताए । ५ वर्षमुनिका बालबालिकाहरुको स्वास्थ्य अवस्था राम्रो होस् र कुपोषण नलागोस भन्ने उद्देश्यले चालु वर्षबाट पोसिलो खाना कार्यक्रम लागु गरेको उनले बताए ।

यो कार्यक्रमका लागि गोरखामा नेपाल सरकारबाट ९५ लाख रुपैयाँ रकम प्राप्त भएको उनले बताए । उक्त रकम सुत्केरी महिलाहरुले पाउनेछन् । बच्चा जन्मिएको ४५ दिन भित्र उक्त सेवा लिइनुसक्नु पर्ने सूचना अधिकारीले खड्काले जानकारी दिए ।

तर यो कार्यक्रम नयाँ भएकाले चालुवर्ष साउनदेखि यता जन्मिएका बच्चाहरुको सम्बन्धित स्वास्थ्य कार्यालयले तथ्यांङ्क संकलन गर्ने कार्य भइरहेको उनले बताए । यसमा प्रतिसुत्केरी महिलाले ४५ दिनको दुईसय रुपैयाँका दरले नौ हजार रुपैयाँ पाउनेछन् ।

उक्त पोषण खर्च रकम प्राप्त गर्नका लागि पोसिलो खानेकुरा व्यवस्थापन गर्नका लागि खर्च गर्ने प्रतिबद्धता सहितको लाभग्राहीको निवेदन, सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्ग अन्तरगत पर्ने भनी गरिएको सिफारिस र परिचयपत्र खुल्ने कागजपत्र सम्बन्धित स्वास्थ्य चौकीमा बुझाउनुपर्नेछ ।

त्यस्तै, स्थानीय पञ्जिकाधिकारीबाट जारी भएको जन्म दर्ताको प्रमाणपत्र वा स्वास्थ्य संस्थाबाट जारी भएको जन्म प्रमाणपत्र वा घरमा सुत्केरी भएको हकमा सम्बन्धित स्वास्थ्य संस्थाबाट सिफारिस र सुत्केरी महिलाको नाममा लेखिएको वैङ्कको खाता नम्बर स्पष्ट खुल्ने चेकको प्रतिलिपि स्वास्थ्य चौकीलाई बुझाउनुपर्ने खड्काले जानकारी दिए ।

उक्त कागजातहरु स्वास्थ्य चौकीले सम्बन्धित पालिकामा र पालिकाबाट जिल्ला स्वास्थ्य कार्यालय गोरखामा बुझाउनु पर्नेछ । स्वास्थ्य कार्यालयबाट प्राप्त उक्त विवरणका आधारमा सुत्केरी महिलाको बैङ्क खातामा रकम जम्मा हुने उनले बताए । यसका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा चालुवर्ष जन्मिएका शिशुहरुको निवेदन संकलन गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजङ ठकुरीले बताए ।

चालु वर्ष एकहजार सुत्केरी आमा पोसिलो खाना कार्यक्रमबाट लाभाविन्त हुने लक्ष्य राखिएको उनले बताए । नेपालमा गरिब, अपाङ्ग, दलित सुत्केरी आमाको पोषण अवस्था नाजुक रहेकाले सरकारले यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।

एक सय ६६ जना बालबालिका कुपोषणको शिकार

कार्यालयका अनुसार चालु वर्षको हालसम्म गोरखामा एकसय ६६ बालबालिका कुषोषणको शिकार भएका छन् । तीमध्ये ६६ जना कडा र एक सय जनामा सामान्य कुपोषणको शिकार भएको जनाएकोछ । बदलिँदो जीवनशैली, गलत खानपान, जङ्कफुडको अधिक प्रयोग, किटनाशक औषधीको गलत प्रयोगका कारण पनि मानिसहरुले खानामा आवश्यक पोषक तत्व प्राप्त गर्न सकिरहेका छैनन् ।

जसका कारण मानिसहरुमा कुपोषण तथा पौष्टिक तत्वको कमीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको छ । सामान्यतया, शरीरमा पोषणतत्वको कमी भएमा कुपोषण हुनुका साथै शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । कुपोषणकै कारण शरीरमा विभिन्न रोगहरु लाग्ने गर्छ । त्यसैले पोषणतत्वको कमीका कारण हुन सक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ ।

विशेष गरी, बदाम, हरियो सागसब्जी, मेवा, सोया मिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस , अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको खानेकुरा , रङ्गिविरङ्गी फलफूूल लगायत भरपूर मात्रमा पोषण तत्व पाइने हुदाँ यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्