| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा छ महिनायता १६६ बालबालिका कुपोषणको शिकार

गोरखामा बिगत छ महिनायता १६६ जना कुपोषित बालबालिका भेटिएका छन् । जनस्वास्थ्य कार्यालय गोरखाले संकलन गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ६६ जना कडा खालको कुपोषित र एकसय जना मध्यम खालका कुपोषित बालबालिका भेटिएका हुन् ।

जिल्लाका २० हजार २१३ बालबालिकाको पोषणको अबस्था नापजाँच गर्दा ०.८ प्रतिशत बालबालिका कुपोषित भेटिएको स्वास्थ्य कार्यालय गोरखाका पोषण शाखाका प्रमुख नवराज खड्काले जानकारी दिए ।

कुपोषितमध्य सबैभन्दा धेरै पालुङ्टार नगरपालिकामा १६ जना र गोरखा नगरपालिकामा १५ जना कुपोषित भेटिएका खड्काले बताए । ‘पालुङ्टारमा ३ जना कडा खालको कुपोषण भएका र १३ जना मध्यम कुपोषण भएको भेटिएका छन्’, उनी भन्छन्, ‘गोरखा नगरपालिकामा २ जना कडा कुपोषण भएका र १३ जना मध्यमखालको कुपोषण भएको भेटिएका छन् ।’

बिगत छ महिनायता विभिन्न पालिकाबाट आएका कुपोषण भएका ६२ जना बालबालिकाको उपचार गरिएको गोरखा अस्पतालले जनाएको छ । उनीहरुमध्य ४८ जना सीघ्र कुपोषित भएका छन् भने १४ जना मध्यमखालको कुपोषित भएकाको उपचार गरिएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

साउनमा सबैभन्दा धेरै २० जना कडा कुपोषणको शिकार भएका बालबालिकालाई उपचार गराइएको उनले बताए । ‘भदौमा कडा कुपोषण भएका ११ जना, असोजमा दुई जना कडा र चार जना मध्यम खालका, कात्तिकमा पाँचजना कडा कुपोषित, मंसीरमा चार जना, पुसमा तीनजना कडा र चार जना मध्यम र माघ महिनामा तीनजना मध्यम र दुई जना कडा कुपोषण भएका बालबालिकाको उपचार गरिएको छ’, उनले भने ।

गण्डकी गाउँपालिकामा पनि १४ जना कुपोषित छन् । त्यहाँ परीक्षण भएका एकहजार सातसय छ जना मध्य तीन कडा खालका र ११ जना मध्यमखालको कुपोषित भेटिएका हुन् । सहिदलखन गाउँपालिकामा एकहजार छ सय ५४ जना बालबालिकाको पोषणको अबस्था परीक्षण गरिएकामा दुईजना कडाखालको र १० जना मध्यमखालको कुपोषण भएका बालबालिका भेटिएका छन् । सिरानचोक गाउँपालिकाका एकहजार पाँचसय ४६ जनामा गरिएको परीक्षणमा एकजना कडा कुपोषित र ११ जना मध्यम कुपोषित भेटिएका खड्काले बताए ।

त्यस्तै आरुघाट गाउँपालिकामा एकहजार नौसय चार जनाको परीक्षण गरिएकोमा एकजना कडा र नौ जना मध्यम खालको कुपोषण भएका बालबालिका भेटिएका कार्यालयले जनाएको छ । धार्चेका एकहजार चारसय २५ बालबालिकामध्य तीनजनामा कडा कुपोषण देखिएको छ भने छ जनामा मध्यम खालको कुपोषण देखिएको छ ।

भीमसेन थापा गाउँपालिकामा एकजनामा कडा र पाँचजनामा मध्यम, बारपाक सुलीकोटमा एकजनामा कडा, तीनजनामा मध्यम, अजीरकोटमा एकजनामा कडा, चार जना मध्यम र चुमनुब्रीमा एकजना मध्यम कुपोषण भएका बालबालिका भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखा र पालुङ्टार नगरपालिकामा परीक्षण भएका बालबालिकाकोे संख्या धेरै भएकाले पनि कुपोषितको संख्या धेरै देखिएको कार्यालयको तर्क छ । साथै बच्चा र आमाले पत्रु खानेकुरा धेरै खाएका कारण यस्तो समस्या धेरै देखिएको हुनसक्ने पोषण अधिकृत नवराज खड्काले बताए ।

‘बजार क्षेत्रमा जनघनत्व धेरै, परीक्षणको संख्या धेरै भएका कारण पनि कुपोषित बालबालिकाको संख्या धेरै देखिएको हुनसक्छ’, उनले भने, ‘बजार भन्दैमा सबै धनीमानी मात्र हुन्छन् भन्न सकिदैन । फेरि यहाँ पत्रु खाना खाने चलन पनि यहाँ धेरै छ । सघन नापजाँच भएका कारण पनि संख्या धेरै देखिएको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्