
अनेरास्ववियुद्वारा विद्यार्थीलाई सार्वजनिक सवारीमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्न माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी गोरखाले विद्यार्थीलाई सार्वजनिक भाडाका सवारी साधनमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गराएका छन् ।
अनेरास्ववियु गोरखाका अध्यक्ष प्रताप ढकालले शुक्रबार गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ध्यानाकर्षण पत्र बुझाउदै सो कुराको माग गरेका हुन् ।
वि. सं. २०५४ सालदेखि लागु भएको विद्यार्थीलाई सार्वजनिक भाडाका सवारी साधनमा सहुलियत प्रदान गर्ने व्यवस्था हाम्रो गोरखा जिल्लामा हालसम्म लागू नहुनाले अनेरास्ववियु जिल्ला कमिटी गोरखाको गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
सरकारको मध्यस्थतामा यातायात व्यवसायी र विद्यार्थी संगठन विचमा म्याद कायम रहेको विद्यार्थी परिचय–पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भएको तर कार्यान्वयन नभएको बताइएको छ ।
सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको र गोरखा जिल्लामा पनि यस व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालयले अभिभावकत्वको भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको अनेरास्ववियु जिल्ला अध्यक्ष प्रताप ढकालले जानकारी दिए । आफुहरुको माग कार्यान्वनय नभएको अवस्थामा संगठनले संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने उनले बताए ।
अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक प्रविन श्रेष्ठ, अनेरास्ववियु जिल्ला अध्यक्ष प्रताप ढकाल, जिल्ला कमिटी कोषाध्यक्ष विक्रम तामाङ, केन्द्रिय सदस्य प्रमिला खड्का, अनेरास्ववियु गोरखा क्याम्पस कमिटी अध्यक्ष राजाराम बोहोरा, द्रव्यशाह क्याम्पसका इन्चार्ज दिवस बानियाँ, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुजर परियार, किरण ढकाल, राष्टिूय युवासंघ नेपाल केन्द्रिय सदस्य अमिर थापा र राष्टिूय युवासंघ गोनपाका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतको उपस्थितिमा प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।




