
मनोमानी ढंगले चलेका र करका दायरामा नआएका औषधी व्यवसाय बन्द गर्नुपर्ने जोड
गोरखाका ग्रामीण क्षेत्रमा मनोमानी ढंगले चलेका तथा करको दायरा भित्र नआएको औषधी व्यवसायलाई विस्थापित गर्नुपर्ने औषधी व्यवसाय संघले माग गरेको छ । नेपाल औषधी व्यवसाय संघ, गण्डकी प्रदेश समितिको गोरखामा सम्पन्न भएको भेलामा सहभागिले उक्त कुरालाई जोड दिएका हुन् ।
कार्यक्रममा जिल्लाको ग्रामीण क्षेत्रमा औषधी पसल गर्नेहरु करको दायरामा नआई मनोमानी ढंगले औषधी विक्रीवितरण भइरहेको संघको जिल्ला शाखा गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले बताए । जिल्लाका धेरै स्थानमा विना दर्ता खुलेआम गाडी र झोलामा औषधी विक्री वितरण भइरहेकाले यसलाई विस्थापित गर्नुपर्ने श्रेष्ठले जानकारी दिए ।
यसलाई उचित ढंगले व्यवस्थापन गर्नु जरुरी उनको सुझाव छ । अव औषधी व्यवस्था विभागमा दर्ता नभएका व्यवसायीलाई संघमा आवद्ध नगर्ने समेत उनले बताए । साथै वैठकमा औषधी व्यवसयाहरुलाई विभिन्न तालिमको आवश्यकता रहेको उनले बताए ।
त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठले जिल्ला विभिन्न स्थानमा संचालनमा रहेको औषधी पसलहरुमा आन्तरिक अनुगमन गरिएको बताए । सो क्रममा औषधी व्यवसायीहरुले औषधी व्यवस्था विभागले तोकिएको नियम पालन गरेको या नगरेको, पसलमा फार्मेसी राखेको वा नराखेको, सरसफाईको अवस्था लगायतका व्यस्थापन पक्षहरुको बारेमा अनुगमन गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए ।
कार्यक्रममा अनाधिकृत रूपमा खोलिएका औषधी पसलहरू बन्द गर्नुपर्ने संघका नवलपरासी जिल्ला शाखा अध्यक्ष कमलनारायण श्रेष्ठले बताए । औषधी व्यवसाय संघ जिल्ला शाखा लमजुङ अध्यक्ष देवानन्द खनालले भने भारतीय औषधीको मूल्यका कारण बजारमा औषधी विक्री गर्न समस्या भएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
औषधी व्यवस्था विभागले औषधी व्यवसायीहरुसँगको समन्वय र सहकार्यमा गरी औषधी पसल अनुगमन गर्नुपर्ने संघका जिल्ला शाखा तनहुँका अध्यक्ष राजु दाहाले बताए । त्यस्तै, स्याङ्जा जिल्ला शाखा अध्यक्ष उर्मिला बस्नेतले थोक औषधी व्यवसायीले औषधी व्यवस्था विभागमा दर्ता भएको औषधी पसललाई मात्र बिलिङ् गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा थोक व्यवसायी उपाध्यक्ष झलक शर्माले थोक व्यवसायीले औषधी व्यवस्था विभागले दिएको पान नम्बरमा मात्र बिलिङ् गर्ने गरेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डेले औषधी व्यवसाय संघ गण्डकी प्रदेशको समिक्षात्मक रुपमा जानकारी गराएका थिए ।
नेपाल औषधी व्यवसायी संघ गोरखा जिल्लाको आयोजना भएको कार्यक्रममा औषधी व्यवसायी संघ गण्डकी प्रदेश भित्रका ११ जिल्लाका अध्यक्ष र महासचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




