
गोरखाको पुष्कर तीर्थमा नियमित गोरक्षआरती सुरु
गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रीको दिन शनिवारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ । पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो ।
शनिवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका गण्डकी प्रदेश प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त आरतीको सुभारम्भ गरेका हुन् । आरतीको सुरुवात गर्दै उनले स्थानीयको अगुवाईमा आरती सुरु हुनुले धार्मीक, सांस्कृतीक शहर गोरखामा पर्यटन प्रर्वद्धनमा मद्धत पुग्ने बताए । ‘आरतीलाई निरन्तरता दिन हामी सबै जाग्नुपर्छ’ उनले भने ‘यसले समाजमा धार्मीक सद्भाव पनि बढाउँछ ।’ आरती नियमित संचालन गर्न अक्षयकोषकालागि स्वर्गिय पिता कृष्णराज पाण्डे र माता देबेन्द्रकुमारी पाण्डेको सम्झनामा ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पाण्डेले घोषणा गरे ।
आरती संचालनकालागि ५० भन्दाबढि ब्यक्ति र बिभिन्न संघ संस्थाले सहयोग गरेको पुष्करतिर्थ आरती समितिका सचिव अयोध्या जोशीले बताए । ‘हामीलाई बिभिन्न ठाउँबाट पुजा संचालन गर्न सहयोग जुटिरहेको छ’ उनले भने ‘यसलाई अक्षयकोष बनाएर निरन्तर संचालन गछौँ ।’
‘यो हाम्रो ऐतिहासिक र धार्मिक परम्परा पनि हो’, समितिका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘गोरखामा पर्यटन भित्र्याउन र आएका पर्यटक टिकाउनका लागि पनि आरती एउटा माध्यम हुन सक्छ ।’ गोरखा देवी देवताको पवित्र ठाउँ, ऐतिहासिक पुण्य भूमि, गोरखकाली, गोरखानाथ मन्दिर रहेको ठाउँ भएकाले पनि यहाँ नियमित आरती गर्दा जिल्लाबासीलाई पनि फाईदा पुग्ने मास्केले बताए ।
नियमित आरती गर्न गोरक्षनाथ वैद्धिक गुरुकुलसँग सहकार्य गरिएको छ । गुरुकुलका बटुकहरुले नियमित आरती गर्नेछन् ।
पशुपतिमा जस्तै गरी आरती नियमित संचालन गर्ने योजना अनुसार त्यहाँबाट आएका प्रशिक्षकले सिकाए अनुसार आरती सुरु भएको हो । शनिवार आरती सुभारम्भको अवसरमा पुष्करतिर्थमा सयौँ स्थानीय भेला भएका थिए ।
दैनिक आरती संचालन गर्नु खर्चिलो रहेकाले यसलाई निरन्तरता दिन सबै पक्षले होस्टेमा हैँसे गर्नुपर्ने समितिका सल्लाहकार मोहनलाल श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आरतीले भक्तजन र मानिसहरुमा सकारात्मक भाव पैदा गर्ने बताउँदै यसले समाजलाई पनि निर्देशित गर्ने बताए ।
गोरखा नगरपालिकाका पूर्व मेयर राजनराज पन्तले स्थानीयको अगुवाईमा सुरु भएको आरती स्थानीयको अग्रसरतामा भएका महत्वपूर्ण काम मध्येको एक रहेको बताउँदै निरन्तरताकालागि सबै लाग्नुपर्नेमा जोड दिए ।
आरती सुभारम्भ कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, बोधप्रसाद अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
पितृको सम्झना, जन्मउत्सवमा वा अन्य बिभिन्न समयमा ब्यक्ति वा संघ संस्थाले पनि निश्चित शुल्क तिरेर आरती गर्न सकिनेछ । त्यसकालागि न्यूनतम आरती गर्दा लाग्ने शुल्क लिएर संचालन गर्ने योजना समितिको छ । सबैले सहजै हेर्न सक्ने गरी पुष्करतीर्थबाट गोरखनाथगुफा तथा गोरखकाली मन्दिरतर्फ फर्किएर आरती गरिएको छ । हरेक साँझ आरती गर्न आधाघण्टा समय लाग्छ । अहिले तीनसेट आरती घुमाईने समितिका सचिव अयोध्या जोशीले बताए ।
पुष्करतिर्थ आरती समितिका सदस्य चन्दनबाबु खत्रीले प्रमुख अतिथि, अतिथिहरु, सहयोगीहरु र सहभागिलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।




